ताप्लेजुङमा आर्थिक गणना कार्यालय स्थापना,बैशाख २ बाट गणक र सुपरीबेक्षक पालिकास्तरमा खटिदैं
खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ३ । ताप्लेजुङमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना भई सेवा प्रारम्भ भएको छ । मंगलवार सदरमुकाम फुङलिङस्थित हुलाक लाइन क्षेत्रमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी सेवा प्रारम्भ गरिएको जिल्ला आर्थिक गणना अधिकारी जीतेन्द्र बैठाले जानकारी दिनुभयो ।
निमित्त प्रमुख जिल्ला अधिकारी यादव भट्टराई,जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतम,जिल्ला सरकारी वकिल कार्यालयका सह जिल्ला न्यायधिवक्ता मदन न्यौपाने,कोष नियन्त्रक यमनाथ गिरी,निमित्त जिल्ला समन्वय अधिकारी युवराज पौडेल र फुङलिङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेल सहितको उपस्थितिमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना भएको हो । जिल्ला आर्थिक गणना अधिकारी बैठाका अनुसार ताप्लेजुङ जिल्लाका लागि १८ जना गणक र ३ जना सुपरीबेक्षकहरु जिम्मेवारीमा आउन लाग्नु भएको छ ।
केन्द्रीय तथ्याङ्क विभागले देशैभरका लागि खोलेको विज्ञापन अनुसार छनौट भएका सुपरीवेक्षक र गणक अब जिल्ला तहको जिम्मेवारीमा आउन लाग्नु भएको हो । ताप्लेजुङका लागि छनौट भएका सुपरीवेक्षक र गणकलाई चैत २६ गतेदेखि ५ दिनको अभिमुखीकरण तालिम दिई जिल्लाका पालिका तहमा खटाउने तयारी रहेको जिल्ला आर्थिक गणना अधिकारी बैठाले जानकारी दिनुभयो । खटिएका सुपरीवेक्षक र गणकले पालिका स्तरीय समन्वय समिति र वडा स्तरीय सहजीकरण समितिमार्फत आर्थिक बस्तुस्थितिको गणना गर्ने बैठाले बताउनुभयो ।
‘अर्थतन्त्र मापनको लागि आर्थिक गणना’ भन्ने नारासहित नेपालका दोस्रोपटक आर्थिक गणना हुन लागेको हो । नेपालमा पहिलो पटक वैशाख २०७५ मा भएको आर्थिक गणना भएको थियो । दोस्रोपटक हुन लागेको आर्थिक गणनामा आर्थिक विवरणदेखि उद्योगहरुबाट भएको उत्पादनसम्मको विवरण समावेश गरिँदैछ । आर्थिक गणनामा प्रतिष्ठानहरुमा गएर नेपालमा उद्योगको अवस्था,रोजगारी सिर्जनाको अवस्था समेत हेरिनेछ । राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजीसार्वजनिक संस्थाहरूको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण संकलन गर्ने योजना छ । विभिन्न १८ वटा क्षेत्रको आधारभुत विवरण संकलन गरिने जिल्ला आर्थिक गणना अधिकारी बैठाले जानकारी दिनुभयो ।