न्यू स्टार झापा बन्यो सिरिजङ्गा गोल्डकपमा सेमीफाइनल पुग्ने दोस्रो टोली

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २४ । तीन बिदेशीसहित अनुभवी खेलाडीप्रेरित न्यू स्टार फुटबल क्लव झापा ताप्लेजुङको तेल्लोकमा जारी पाँचौं अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको सेमीफाइनल पुग्ने दोस्रो टोली बनेको छ ।

टाईब्रेकरमा वाईवाई पाँचथर फुटबल क्लवलाई ४–३ ले पराजित गर्दै झापाले सेमीफाइनलमा स्थान बनाएको हो । निर्धारित समयमा दुबै टोलीले १–१ को बराबरी खेलेपछि खेलको निर्णय टाईब्रेकरबाट गरिएको थियो । टाईब्रेकरमा न्यू स्टारका बिक्रम तामाङ,निरज परियार,राजेश शाह र रिचर्ड विल्सनका प्रहारले गोलको दिशा लिँदा अजय मार्टिनको प्रहारले गोलको दिशा लिन असफल भयो ।

पाँचथरका सुसन जबेगु,निरोज लिङदेन र मनिष क्षेत्रीका प्रहार गोलका लागि सफल हुनुभयो मिराक खजुम र प्रकाश धमला गोल गर्न असफल रहनुभयो । यसअघि खेलको सुरुआती अग्रता न्यू स्टार झापाले लिएको थियो । मध्यान्तर अघि न्यूटारका लागि रिचर्ड विल्सनले गोल गर्नुभयो भने मध्यान्तर पछिको खेलमा पाँचथरका निरोज लिङदेनले लग फुटसट प्रहार गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । न्यू स्टार रिचार्ड,अजय मार्टिन र ओडोका सहित अन्टर नाइन्टिन फुटबल क्लवका अन्तराष्ट्रिय खेल खेलिसकेका बिक्रम तामाङ र झापा ११ का खेलाडी राजेश शाह सहितका खेलाडी लिएर मैदानमा उत्रिएको थियो ।

बिहीबार हुने तेस्रो क्वाटर फाइनल खेलमा पारिजात संघ फुटबल क्लब भारतले मरिक फुटबल क्लब धरानसँग प्रतिश्पर्धा गर्ने छ । मंसिर २६ गते चौथो तथा अन्तिम क्वाटर फाइनल खेलमा साँगुरीगढी फुटबल क्लब धनकुटाले म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुमसंग स्पर्धा गर्दै पहिलो चरणका खेल समाप्त गर्ने छ । मंगलवार भएको पहिलो खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लव रेडहर्ष फुटबल क्लव इलामलाई टाईब्रेकरमा पराजित गर्दै सेमीफाइनल पुगिसकेको छ । यसअघि कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार मावो लिम्बू(गणेश)ले प्रमुख रेफ्री विके थलङलाई बल हस्तान्तरण गर्दै खेल सुचारु गर्न अनुमति दिनु भएको थियो । खेल मंसिर २९ गते समापन हुने आयोजक तेल्लोक स्पोर्टिङ क्लवका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिनुभयो ।

 

Similar Posts