पुसे मेलाको अवसरमा हुने भलिबल प्रतियोगितामा एक अन्तराष्ट्रिय सहित ७ टिम सहभागी हुने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २७ । पुसे मेला २०८२ को अवसरमा ताप्लेजुङको दोभान बजारमा हुने अन्तराष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगितामा ७ टिम सहभागी हुने भएका छन् ।
आयोजक पुसे मेला सञ्चालन समिति तथा दोभान स्पोर्टिङ क्लवले शनिवार पत्रकार सम्मेलनमार्फत प्रतियोगितामा सहभागी हुने ७ टिम सार्वजनिक गरेको हो । पुसे मेला सञ्चालन समितिका अध्यक्ष हेम चोङवाङका अनुसार प्रतियोगितामा एक अन्तराष्ट्रिय टिम युनाईटेड एथलेटिक्स क्लव कोलकत्ता भारत समेत सहभागी हुने छ । यसैगरी प्रतियोगितामा गतबर्षको बिजेता भोजपुर,संखुवासभा,ट्रेनिङ सेन्टर दमक झापा,मुकेश ममोरियल क्लव सिरिजङ्गा(ताप्लेजुङ),क्षेत्र नं ‘ख’ ताप्लेजुङ र बिराटनगर रानी(मोरङ)को टिम रहने भएको छ । भलिबल खेल संयोजक कृष्ण चोङवाङका अनुसार प्रतियोगिताको खेल तालिका मंसिर २९ गते सार्वजनिक गरिने भएको छ ।
पुसेमेला सञ्चालन समितिका सचिव गणेश कार्कीडोलीका अनुसार भलिबल प्रतियोगितमा बिजेता हुने टिमले नगद ३ लाख र उपबिजेता हुने टिमले १ लाख ७५ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमी फाईनलमा पुगेका दुई टिमलाई सान्त्वना पुरस्कार स्वरुप प्रति टिम ५० हजार रुपैयाँ प्रदान गरिने पुसे मेला सञ्चालन समितिले जनाएको छ । उत्कृष्ट सर्भर,उत्कृष्ट डिफेण्डर,उत्कृष्ट ब्लकर,उत्कृष्ट सेटर,उत्कृष्ट प्रशिक्षक र उदयमान खेलाडीलाई जनही नगद ५ हजार रुपैयाँ प्रदान गरिने भएको छ । सर्बोत्कृष्ट हुने खेलाडीलाई नगद ७ हजार रुपैयाँ तथा प्रत्येक खेलका म्यान अफ द म्याचलाई १ हजार ५ सय रुपैयाँ प्रदान गरिने आयोजक पुसे मेला सञ्चालन समितिका अध्यक्ष चोङवाङले जानकारी दिनुभयो ।
आयोजकले सहभागी टिमलाई एकतर्फी बसभाडा उपलब्ध गराउने भएको छ । पुसेमेला सञ्चालन समिति र दोभान स्पोर्टिङ क्लवको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । मेरिङदेन गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाको संगमस्थल दोभान बजारमा हुने पुसे मेला पुस १ गतेबाट सुरु भई ५ गते समापन गर्ने आयोजकको तयारी रहेको सचिव कार्कीडोलीले जानकारी दिए । कृषि तथा पर्यटन प्रवद्र्धन गर्दै खेलकुदका माध्यमबाट दोभान र आसपासमा रहेका प्राकृतिक सम्पदा,पर्यटन र कृषि क्षेत्रको थप उन्नयन गर्ने तथा प्रतिभावान खेलाडीको खेलको सम्मान र उदयमान खेलाडीको खेल कौशलको विकास गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको पुसे मेला सञ्चालन समितिले जानकारी दिएको छ । समितिका अनुसार पुसे मेला लाग्न थालेको यसबर्ष ५२ औं बर्ष हुने छ । प्रतियोगिता सम्पन्न गर्न करिव ३६ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।