दोस्रो माछापोखरी हिटी गोल्डकप फागुन २५ गतेदेखि

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २१ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका–५ चाँगेमा आमन्त्रित दोस्रो माछापोखरी हिटी गोल्डकप फुटबल प्रतियोगिता फागुन २५ गतेदेखि सुरु हुने भएको छ । फागु पूर्णिमाको अवसरमा आयोजना गर्न लागिएको प्रतियोगिता फागुन २५ देखि सुरु भई २९ गते सम्पन्न हुने भएको हो ।
आयोजक चाँगे माछापोखरी हिटी क्लबले बुधबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । क्लबका खेलकुद संयोजक दीपेश आङ्बुहाङका अनुसार प्रतियोगितामा स्थानीय दुईसहित आठ टोलीको सहभागिता रहने छ ।
स्थानीय टोलीमा आयोजक माछापोखरी हिटी क्लब र लालिमा क्लब ताप्लेजुङ रहेका छन् । यस्तै सम्दु फुटबल क्लब तेह्रथुम, वाईवाई क्लब पाँचथर, संखुवासभा जिल्ला फुटबल संघ, डाँडाबजार फुटबल क्लब धनकुटा र न्यू स्टार क्लब झापाको प्रतियोगितामा सहभागिता रहने टुंगो लागेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले तीन लाख रुपियाँ राशिको नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छ । उपविजेताले एक लाख ६० हजार रुपियाँ नगद पुरस्कारका साथ पदक र प्रमाणपत्र पाउने क्लबका अध्यक्ष दिलकुमार साम्रा लिम्बूले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनलमा सर्वश्रेष्ठसहित विभिन्न विधामा खेलाडी नगद पुरस्कार प्रदान गरिने पनि अध्यक्ष लिम्बूले बताउनुभयो ।
यता प्रतियोगितामा करिव २२ लाख रुपियाँ जति खर्च हुने अनुमान गरिएको क्लबका सचिव घनु गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताका लागि आठराई त्रिबेणी गाउँपालिका मुख्य प्रायोजक र पाथीभरा क्षेत्र विकास समिति र चाँगे समाज हङकङ प्रायोजकको भूमिकामा रहेका छन् । त्यस्तै मैवाखोला गाउँपालिका, मेरिङ्देन, मिक्वाखोला र फक्ताङ्लुङ गाउँपालिका सहप्रायोजकको भूमिकामा रहेका छन् । फाइनलका दिन राष्ट्रिय कलाकारसहितको उपस्थितिमा सांगीतिक कार्यक्रम हुने पनि आयोजक क्लबले जनाएको छ ।
पत्रकार सम्मेलनमा ताप्लेजुङ जिल्ला फुटबल संघका अध्यक्ष अशोक चेम्जोङ, जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका कार्यालय प्रमुख यज्ञनिधि पौडेल, आयोजक क्लबका अन्य पदाधिकारी तथा विभागीय संयोजकहरु लगायतको सहभागिता रहेको थियो ।