जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा एकदिने निःशुल्क स्वास्थ्य शिविर,१ सय २५ जना लाभान्वित
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २४ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ परिसरमा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट १ सय २५ जनाको स्वास्थ्य परीक्षण तथा उनीहरुलाई निःशुल्क औषधि बितरण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक विन्देश्वर यादवका अनुसार १ सय पुरुष तथा २५ महिलाको स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरुलाई निःशुल्क औषधि बितरण गरिएको थियो । कोशी प्रदेश प्रहरी अस्पताल सुनसरीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको सहकार्यमा स्वास्थ्य शिविर आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शिविरमा कोशी प्रदेश प्रहरी अस्पतालका प्राविधिक प्रहरी नायव उपरीक्षक डा.अनुप श्रेष्ठको नेतृत्वमा रहेको ७ सदस्यीय विशेषज्ञ चिकित्सकहरुको टोलीले स्वास्थ्य परीक्षण तथा उपचार गरेको थियो । बहालवाला तथा पूर्व प्रहरी कर्मचारी र उहाँहरूका परिवारहरूलाई लक्षित गरी स्वास्थ्य शिविरको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
शिविरका क्रममा श्वासप्रश्वास,रक्तचाप,मधुमेह,हाडजोर्नी,आँखा,दाँत तथा कान लगायतका विभिन्न स्वास्थ्य समस्याहरूको विशेषज्ञ स्वास्थ्य परीक्षण एवं परामर्श सेवा प्रदान भएको समेत जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यादवले जानकारी दिनुभयो ।