‘अब तमोर रातो बग्छ’ गजल कृतिको समीक्षा
-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज २४ । युवा साहित्यकार डा. मधुराज केरुङको ‘अब तमोर रातो बग्छ’ गजल कृतिको ताप्लेजुङमा समीक्षा गरिएको छ । मुक्कुमलुङ साहित्यिक प्रतिष्ठान ताप्लेजुङद्वारा आयोजित कार्यक्रमकाबिच गजल कृतिको समीक्षा गरिएको हो ।
सदरमुकाम फुङ्लिङमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा पाँचथर निवासी साहित्यकार डा. केरुङको गजल कृतिको समीक्षासँगै सिर्जना वाचन गरिएको छ । मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानका अध्यक्ष मनिष हेल्लोकका अनुसार जिल्लाका अग्रज साहित्यकारले डा. केरुङको कृतिमाथि आ–आफ्नो धारणा राख्दै समीक्षा गर्नुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष हेल्लोकसहित कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानका सचिव शान्तिराम नेपाल, साहित्यकार लेकाली कान्छा मुक्कुम, उदय भट्टराई, नवराज आचार्य लगायतले कृतिको समीक्षा तथा चर्चा गर्नुभएको थियो । समिक्षकहरुले डा. केरुङले लेख्नुभएको कृतिमा विद्रोह, जागरण र सचेतना सन्देश, संस्कृति, अस्तित्व र पहिचानको उजागर गर्नेजस्ता सिर्जना अर्थात गजलहरु समावेश रहेको उल्लेख गर्नुभएको छ ।
लेखक साहित्यकार डा. केरुङ पाँचथरका बासिन्दा हुनुहुन्छ भने उहाँ हाल पाँचथर बहुमुखी क्याम्पसमा सहप्राध्यापकका रुपमा कार्यरत रहनुभएको छ । साहित्यकार केरुङ लिम्बू समुदायबाट कम उमेरमा विद्यावारिधि गर्ने व्यक्तिसमेत रहनुभएको प्रतिष्ठानका अध्यक्ष हेल्लोकले जानकारी दिनुभयो । उहाँको अब तमोर रातो बग्छ गजल कृति ११२ पृष्ठको रहेको छ भने कृतिमा १०५ वटा गजल समावेश छन् ।
यता कृति समीक्षा कार्यक्रममा मणि सेम्बु, सीता पिरती, प्रशान्त लेखक, तेज मैनाली, रीता घिमिरे (घायल), नवीन लाम्गादे, अनिशा वि.क. लगायतका स्थानीय साहित्यकारले सिर्जना वाचन गर्नुभएको थियो । साहित्यकाहरुले आफ्नो सिर्जना तथा डा. केरुङको कृतिमा रहेको गजलसमेत वाचन गर्नुभएको थियो ।