ठेक्कामा लाग्यो मैवाखोलाको कर्भडहल

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २४ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कर्भडहल सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी ठेक्कामा दिएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत टसी शेर्पाका अनुसार मूल्य अभिबृद्धि कर बाहेक बार्षिक ३१ हजार रुपैयाँमा मैवाखोला गाउँपालिका वडा नं ३ साँघुका निर्मला लिम्बूले मैवाखोला गाउँपालिकाको कर्भडहल सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी पाउनु भएको हो । पालिकाले कर्भडहल सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी ठेक्कामा दिन असोज १२ गते बोलपत्र आवह्वान गरेको थियो । खोलिएको बोलपत्रको समयावधि भित्र लिम्बूद्धारा प्रेषित बोलपत्र अधिकतम् मूल्याङ्कित सारभूत रुपमा प्रवाहग्राही देखिएकोले पालिकाले बोलपत्र स्वीकृत गरी कर्भडहल सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी प्रदान गरेको हो । ठेक्का रकम बार्षिक १० प्रतिशतले बृद्धि हुने समेत पालिकाले जनाएको छ ।

पालिकाले यसअघि नै ठेक्का प्राप्त गर्ने व्यक्ति वा संस्थाले कर्भड हलको नियमित सञ्चालन,सरसफाई,खानेपानी,बिजुली,सुरक्षा तथा मर्मतसम्भारको जिम्मेवारी लिनुपर्ने बताएको थियो । कर्भड हलको प्रयोग पालिकाको नीति तथा स्वीकृत दर अनुसार मात्र हुने,पालिकाले आयोजना गर्ने सार्वजनिक,शैक्षिक,खेलकुद,बालमैत्री तथा बिशेष कार्यक्रमका लागि आवश्यक परेमा प्राथमिकतामा साथ उपलब्ध गराउनुपर्ने,ठेक्कावालाले हल प्रयोग वापत प्राप्त आम्दानीको सम्पूर्ण अभिलेख अद्यावधिक गरी राख्नुपर्ने र पालिकाले मागेका बखत पेश गर्नुपर्ने सहितका सर्त पालिकाले अघि सारेको छ ।

कर्भडहल,भवन,चमेना गृह,विद्युतीय सामग्री,फर्निचर तथा अन्य सम्पत्तिमा क्षति पुगेमा सम्वन्धित ठेक्कावाल जिम्मेवार हुनुपर्ने,ठेक्का अवधि भित्र पालिकाको स्वीकृति बिना अर्को संस्था वा व्यक्तिलाई जिम्मेवारी हस्तान्तरण गर्न नपाइने,ठेक्का रकम सम्झौता अघि नै एकमुष्ट रुपमा भुक्तानी गर्नुपर्ने र वातावरण,सार्वजनिक शान्ति तथा कानुन विपरितका गतिविधि गर्न नपाइनेसहितका सर्तसहित मैवाखोलाले कर्भड हल ठेक्कामा लगाएको हो ।

 

Similar Posts