चालु आवमै फुसको छानो बिस्थापन भएको पालिका बनाउने सिदिङ्वाको तयारी,मागियो आबेदन

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २४ । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले चालु आर्थिक बर्ष भित्रै पालिकालाई फुसको छानो बिस्थापन भएको पालिकाको रुपमा घोषणा गर्नेगरी कार्य अघि बढाएको छ ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सञ्जय चौधरीका अनुसार पालिकाले सुरक्षित नागरिक आवास कार्यक्रममा सहभागी हुन चाहने लाभग्राहीबाट आबेदन माग गरिएको हो । पालिकाले असोज २८ गतेसम्ममा सुरक्षित नागरिक आवास कार्यक्रममा सहभागी हुन चाहने सम्वन्धित लाभग्राहीलाई पालिकामा आबेदन दिन आग्रह गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत चौधरीका अनुसार पालिका भित्र फुसको छानोको घर भएका लाभग्राहीलाई पालिकाले जस्तापाता उपलब्ध गराउने छ ।

पालिकाले समय भित्र आबेदन पेश नगर्नेको हकमा स्वेच्छाले फुसको छानो राख्ने सेवाग्राहीको सूचीमा राखी आबेदन दिएका घर परिवारको तथ्याङ्कका आधारमा पालिकालाई फुसको छानो बिस्थापन भएको पालिका घोषणा गर्ने समेत जनाएको छ । यो भनेको फुसको छानो बिस्थापन कार्यक्रममा सहभागी हुन चाहने लाभग्राहीले फुसको छानो बिस्थापन गरी जस्तापाता लगाउने भए अन्तिम पटकको मौका स्वरुप असोज २८ गते भित्र पालिकामा आबेदन दिईसक्नु पर्छ भनिएको हो ।

पालिकाले आबेदनका साथ नागरिकताको प्रमाणपत्र(उपलब्ध भएमा राष्ट्रिय परिचयपत्र)का साथमा नेपाल सरकारले जारी गरेका विभिन्न परिचयपत्रको छायाँकपी,सिदिङ्वा गाउँपालिकाको स्थायी बासिन्दा भएको प्रमाण खुल्ने कागजपत्रको छायाँकपी,यसभन्दा अगाडि सो कार्यक्रमका लागि कुनै अनुदान नलिएको स्वघोषणापत्र र जस्तापाता प्राप्त गरेको एक महिना भित्र फुसको छानो हटाई जस्तापता लगाईसक्ने गरी लाभग्राहीले गर्ने प्रतिबद्धतापत्र समेत संलग्न राख्नुपर्ने जनाएको छ ।

Similar Posts