| |

काँग्रेस १५ औं महाधिवेशनः ताप्लेजुङबाट ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज १६ । नेपाली काँग्रेसको १५ औं महाधिवेशनका लागि ताप्लेजुङबाट ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनु भएको छ । बिहीबार राति अबेर सार्वजनिक गरिएको अन्तिम परिणामअनुसार केन्द्रीय सदस्य लीलादेवी बोखिमसहित उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको हो ।
महाधिवेशन प्रतिनिधि ३३ जनामध्ये २६ जना निर्वाचन प्रक्रियामार्फत चुनिनुभएको छ भने सात जना निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार पार्टीकी केन्द्रीय लीलादेवी बोखिम ७४५ मत प्राप्त गरी महिला कोटाअन्तर्गत महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।
महिलातर्फ नै प्रतिनिधिसभा सदस्यसमेत रहनुभएकी गीताकुमारी सेन्दाङ ६३० मत प्राप्त गरी महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । त्यस्तै शिला इजम ६५१ र शान्ति मादेन ४७० मत पाएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । महिला कोटामा चार जना चुनिनुपर्नेमा छ जनाले निर्वाचन प्रक्रियामा प्रतिस्पर्धा गर्नुभएको थियो ।
यस्तै खुलातर्फ १० जना चुनिनुपर्नेमा सबैभन्दा बढी ९४२ मत प्राप्त गरी खगेनसिंह हाङगाम महाधिवेशन प्रतिनिधिमा निर्वाचिन हुनु भएको छ । हाङगाम कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री हुनुहुन्छ । यस्तै ८८९ मत प्राप्त गरी जिल्ला सभापतिसमेत रहनुभएका गजेन्द्रप्रसाद तुम्याहाङ महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।
जिल्ला सचिव एवं मेरिङ्देन गाउँपालिका अध्यक्ष रहनुभएको युकहाङबिर हाङगाम (७७८), इन्द्रकुमार केदेम (७५७), टीकाराम गुरुङ (७३२) महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । खुलातर्फ नै युवराज गुरुङ (६२४), छुवाङ लन्डुक शेर्पा (६००), केशवप्रसाद दाहाल (५६९), गणेशबहादुर लिम्बू (५५५) र छविलाल गुरुङ ५२२ मत प्राप्त गरी महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनु भएको छ । खुलातर्फ महाधिवेशन प्रतिनिधिका लागि १७ जना निर्वाचन प्रक्रियामा प्रतिस्पर्धामा रहनुभएको थियो ।
यसैगरी पेशागत विषयविज्ञ कोटामा डिल्लीरमण बराल (४४३), युवा ३५ वर्षमुति महिलामा पासाङ किपा शेर्पा (६५१), पुरुषमा लोकेश लङ्वा लिम्बू (५४७) र गौरव भण्डारी ४६८ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । श्रमिक कोटामा ५५८ मत प्राप्त गरी पदमससुन्दर पालुङ्वा निर्वाचित हुनुभएको छ ।
प्रजातन्त्र सेनानी सहिद परिवार द्वन्द्वपीडित कोटामा विजयप्रकाश साँवा लिम्बू (४००), आदिवासी जनजाति समानुपातिकमा कमल लिम्बू (डिल्ली) ४९२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । आदिवासी जनजाति समानुपातिकतर्फ नै सुरेश लिम्बू सिंघक (४८६), मातृकाप्रसाद शेर्पा (४३४) र क्षितिज सुनुवार ४१९ मत प्राप्त गरेर महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।
यसैगरी खसआर्य महिलातर्फ मातृकादेवी प्रसाइँ ५७६ मत र समानुपातिक खसआर्यतर्फ तारानाथ बराल ३६३ मत प्राप्त गरी महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । त्यस्तै दलित कोटामा जसबहादुर बर्देवा, दलित समानुपातिकमा टिकेन्द्र नेपाली, अल्पसङ्ख्यकमा तेजकुमार सुनुवार (जंग), अपांगतामा तिलप्रसाद सुब्बा निर्विरोध निर्वाचित हुनुभएको छ ।
यस्तै समानुपातिक महिला आदिवासी जनजातिमा कविता सुब्बा, जशोदा गुरुङ मादेन र प्रमिला गुरुङ पनि महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनुभएको छ । यता काँग्रेसको प्रदेश निर्वाचन क्षेत्र (क्षेत्रीय) कार्यसमितिको सभापतिमा प्रदेश क्षेत्र (क) मा गणेश खिम्दिङ लिम्बू र प्रदेश क्षेत्र (ख) को सभापतिमा उदयकुमार आङ्बुहाङ निर्वाचित हुनुभएको छ ।
खिम्दिङले सिरिजंघा गाउँपालिकाका अध्यक्षसमेत रहनुभएका लालकृष्ण चौहानलाई १३८ मतअन्तरले पराजित गर्दै क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको हो । सभापतिमा निर्वाचित खिम्दिङले ३८१ मत प्राप्त गर्दा चौहानले २४३ मत मात्र पाउनुभएको थियो । प्रदेश (ख) का आङ्बुहाङ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
काँग्रेसको आगामी महाधिवेशनमा ताप्लेजुङबाट पदेनसहित ४४ जना प्रतिनिधि सहभागी हुने नेपाली काँग्रेस ताप्लेजुङले जनाएको छ । काँग्रेसका अनुसार ३३ जना महाधिवेशन प्रतिनिधि, जिल्लाका नौवटा स्थानीय तहका पालिका कार्यसमिति सभापति र दुई प्रदेश क्षेत्र कार्यसमितिका सभापति पदेन प्रतिनिधिका रुपमा महाधिवेशनमा सहभागी हुनुहुने छ ।
यता महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन प्रक्रियामा प्रतिस्पर्धा गर्नुभएका फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, फक्ताङ्लुङ गाउँपालिकाका उपाध्यक्ष रवीन साम्रा (विकास) र मैवाखोला गाउँपालिकाकी उपाध्यक्ष कमलकुमारी लिम्बू पराजित हुनुभएको छ ।
यस्तै सिरिजंघा गाउँपालिकाका अध्यक्ष चौहान क्षेत्रीय सभापति र मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की क्षेत्रीय प्रतिनिधिमै पराजित हुनुभएको छ । काँग्रेसको महाधिवेशन प्रतिनिधि र प्रदेश क्षेत्र (क्षेत्रीय) कार्यसमिति चयनका लागि सोमबार सुरु भएको अधिवेशनको अन्तिम नजिता आउनलाई बिहीबार रातिसम्म अर्थात चार दिन लागेको हो । अधिवेशनका लागि एक हजार ४४६ मतदाता रहेकोमा एक हजार २७३ मत खसेको थियो ।

Similar Posts