एकीकृत कृषि तथा पशुपन्छी अनुसन्धान केन्द्रमार्फत किसानलाई ज्ञान,सीप र प्रविधि हस्तान्तरण गर्दै फक्ताङलुङ
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ३० । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले एकीकृत कृषि तथा पशुपन्छी अनुसन्धान केन्द्रमार्फत प्राप्त भएको ज्ञान र सीप किसानको खेतवारी र घरगोठसम्म पुग्नुपर्नेमा जोड दिएको छ ।
किसानलाई ज्ञान,सीप र प्रविधिसंग जोड्न स्थापना भएको अनुसन्धान केन्द्र कुनै नाफा कमाउने संस्था नभएको बताउँदै पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले अनुसन्धान,प्रविधि र किसानको अनुभवलाई यो केन्द्रमार्फत एकीकृत र संस्थागत गरिने जानकारी दिनुभयो । अनुसन्धान केन्द्रको अधिकतम् उपयोगमार्फत किसानले उत्पादनमा बृद्धि र लागतमा कटौति हुनेगरी फाइदा लिन सक्नुपर्ने पालिका अध्यक्ष लिम्बूले बताउनुभयो । गाउँपालिकाले एकीकृत कृषि तथा पशुपन्छी अनुसन्धान केन्द्रमार्फत किसानले लिने ज्ञान,सीप र प्रविधिमार्फत किसानको उत्पादन र उत्पादकत्व बृद्धि हुने अपेक्षा राखेको छ । किसानले उत्पादन गरेको कृषिजन्य बस्तुको बजारीकरणका लागि पालिकाले कृषि एम्बुलेन्स समेत सञ्चालनमा ल्याई सकेको बताउँदै पालिका अध्यक्ष लिम्बूले अनुसन्धान केन्द्रको उचित उपयोगले आत्मनिर्भरता हटी व्यवसायमुखी कृषि प्रणालीतर्फ किसान अग्रसर हुने विश्वास समेत व्यक्त गर्नु भएको छ ।
स्थानीय हावापानी,भूगोल र माटो अनुकूल खेती तथा पशुपन्छी पालनका सम्भावनाको अध्ययन गर्ने,सफल अभ्यासको नमूना प्रदर्शन गर्ने र त्यसबाट प्राप्त ज्ञान,सीप तथा प्रविधि किसानसम्म हस्तान्तरण गर्ने उद्देश्यसहित पालिकाले वडा नं ५ को छिरुवामा एकीकृत कृषि तथा पशुपन्छी अनुसन्धान केन्द्र सञ्चालनमा आएको छ । यस केन्द्रमार्फत किसानलाई आवश्यक तालिम,प्राविधिक परामर्श र प्रयोगात्मक सिकाई प्रदान गर्दै उत्पादन र उत्पादकत्व वृद्धिका लागि कार्य हुँदै आएको छ । अनुसन्धान केन्द्रमार्फत रसायनिक मल तथा विषादीमाथिको निर्भरता घटाउँदै जैविक खेतीलाई विस्तार गर्ने कार्यमा समेत सहयोग पुग्दै आएको पालिकाले बताएको छ । अनुसन्धान केन्द्रमा अहिले जैविक मलको नमूनागत उत्पादन समेत हुँदै आएको छ भने जैविक मल उत्पादन गर्ने तरिका समेत सिकाइन्छ ।
पालिकाले पालिकाका विभिन्न स्थानमा जैविक मल उत्पादनको प्रकृया अघि बढाएर पालिकालाई शुद्ध तथा अर्गानिक कृषिजन्य उत्पादनतर्फ उन्मुख गराउँदै आएको समेत जनाएको छ । स्थानीय स्रोत–साधनको सदुपयोग गर्ने,स्वस्थ खाद्यवस्तु उत्पादन गर्ने र गाउँपालिकालाई क्रमशः कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य अनुरुप अनुसन्धान केन्द्रमार्फत किसानलाई ज्ञान,सीप र प्रविधि एकै ठाउँबाट प्रदान हुँदै आएको पालिका अध्यक्ष लिम्बूले बताउनु भएको छ । पालिकाले अनुसन्धान केन्द्रलाई पालिकाको मात्र सम्पत्तिको रुपमा मात्र नभई किसानको ज्ञान,सीप र प्रविधि हाँसिल गर्ने साझा केन्द्रको रुपमा विकास गर्दै लगेको जनाएको छ ।