लिङतेपमा माघ ९ बाट प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप प्रतियोगिता,८ टिम सहभागी हुने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ ३ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं ४ लिङ्तेपमा माघ ९ देखि १३ गतेसम्म हुने प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप प्रतियोगितामा सहभागी हुने ८ टिमको टुङ्गो लागेको छ ।

आयोजक प्रगतिशिल युवा क्लवले शनिवार फुङलिङमा पत्रकार सम्मेलनमार्फत बसन्त पञ्चमीको अवसरमा आयोजित गोल्डकप प्रतियोगितामा सहभागी हुने ८ टिम सहित खेल तालिका समेत सार्वजनिक गरेको हो । क्लवका अध्यक्ष विजय हाङगामका अनुसार प्रतियोगिताको उद्घाटन खेल माघ ९ गते आयोजक प्रगतिशिल युवा क्लब निलो र लालीमा युवा क्लब ढुङ्गेसाँघुबिच खेल हुनेछ । माघ १० गते आयोजकको दोस्रो टिम र मानाभारा युवा क्लब खेजेनिम आमनेसामने हुनेछन् । माघ ११ गते साथीभाई सामाजिक युवा क्लव फुङलिङ र पुवाजुङ फुटबल क्लव ईलामबिच पहिलो तथा पृथ्वी तथा लेस्नमाया स्मृति युवा क्लव र कुम्मायक कुसायक पाँचथरबिच दोस्रो खेल हुने छ । पहिलोचरणका खेल समाप्त भएपछि सेमीफाईनल चरणका खेल सुरु हुने भएका छन् । ताप्लेजुङ जिल्ला फुटबल संघका पूर्व महासचिव तथा क्लवका संरक्षक विश्वराज नाल्वोका अनुसार प्रतियोगिताको बिजेताले नगद ३ लाख २ हजार ८२ र उपबिजेता नगद १ लाख ५२ हजार ८२ रुपैयाँका साथ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेण्डर र सर्बाधिक गोलकर्तालाई जनही ४ हजार रुपैयाँ र प्रतियोगिताको सर्बोकृष्ट खेलाडीलाई नगद ८ हजार रुपैयाँ प्रदान गरिने क्लवले जनाएको छ ।

पर्यटन र खेलकुदलाई जोड्ने उद्देश्यका साथ आयोजित प्रतियोगिताले मेरिङदेनमा रहेका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्न मद्यत पुग्ने आयोजकले विश्वास लिएको जनाएको छ । कुल ११ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको गोल्डकपका लागि मेरिङदेन गाउँपालिका वडा नं ४ लिङतेप मुख्य प्रायोजक रहने छ भने स्थानीय जलविद्युत परियोजनाहरु क्रमशःयुनाईटेड मेवा र मेवा डेभलर्पससहितका स्थानीय दाताहरुबाट उक्त स्रोत संकलन गर्न सकिने क्लवको विश्वास रहेको छ । जिल्ला फुटबल संघका पूर्व महासचिव तथा क्लवका संरक्षक नाल्वोका अनुसार प्रतियोगितामा सहभागी टिमलाई दुरी र भुगोलका आधारमा यातायात खर्च समेत दिने आयोजकको तयारी छ । पत्रकार सम्मेलनका प्रमुख अतिथी तथा कोशी प्रदेशका पूर्व मन्त्री एवम् प्रदेशसभा सदस्य खगेनसिं हाङगामले बसन्ती पञ्चमीको अवसरमा लिङतेपमा लाग्दै आएको मेला तथा प्रतियोगिता सहितका कार्यक्रम ऐतिहाँसिक र जर्गेनायुक्त रहेको बताउनुभयो । यकिन समय नखुलेपनि त्यसक्षेत्रका बुढापाका तथा अग्रजहरुले लिङतेपमा हुने मेला परापूर्वकालदेखि नै लाग्दै आएको सुनाउने गरेको हाङगामले बताउनुभयो ।

सुरुमा लिङतेप श्रीगंगामा हुने मेला तथा विभिन्न खेलकुद कार्यक्रम अहिले भने स्वर्गीय तुलसी नाल्वो स्मृति खेल मैदानमा सञ्चालन हुन लागेको छ । मेरिङदेन गाउँपालिकामा रहेका पर्यटकीय स्थलहरुको प्रचार–प्रसार गर्दै ऐतिहाँसिक रुपमा लाग्दै आएको मेला तथा प्रतियोगितालाई अहिलेको पुस्ताले थप परिस्कृत गर्दै निरन्तरता दिदैं आएको कोशी प्रदेशका पूर्व मन्त्री एवम् प्रदेशसभा सदस्य हाङगामले सुनाउनुभयो । उद्घाटनको दिन स्थानीय संस्कृति र परम्पराका मौलिक साँस्कृतिक झाँकीहरु प्रर्दशन गर्ने कार्यक्रम रहेको क्लवका संरक्षक नाल्वोले जानकारी दिनुभयो । खरैखरले घेरिएको स्थलको रुपमा सुरुमा लिङदेप हुँदै पछि लिङतेप स्थल रहेको र यो क्षेत्र आफैंमा ऐतिहाँसिक रहेको क्लवले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

Similar Posts