बिचौलियाको प्रभाव अन्त्य गर्ने योजनामा फक्ताङलुङ,कोशेली घर देखि कृषि एम्बुलेन्ससम्मको अवधारणा
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ४ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले कृषक र उपभोक्ताबिच प्रत्यक्ष व्यवसायिक सम्वन्ध स्थापित गर्दै कृषिजन्य उत्पादनको बजारमा बिचौलियाको प्रभाव अन्त्य गर्ने भएको छ ।
पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)का अनुसार कृषिजन्य उत्पादनको बजार सुनिश्चितता गर्दै कृषि एम्बुलेन्स सेवा र मुख्य बजार क्षेत्रहरुमा साप्ताहिक हाट बजार सञ्चालनको योजना बनाईएको छ । स्थानीय उत्पादनको प्रर्वद्धन,ब्राण्डिङ र बजार बिस्तारका लागि पालिका कोशेली घर सञ्चालनमा ल्याउने पालिकाको तयारी छ । कृषि एम्बुलेन्स सेवामार्फत दुर्गम बस्तिका बासिन्दाको कृषिजन्य उत्पादनलाई प्रतिश्पर्धी बजारसंग जोड्दै बजार र बिक्री दुबैको सुनिश्चितता कायम गर्ने पालिकाको तयारी रहेको पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । साप्ताहिक रुपमा सञ्चालन हुने नियमित हाट बजारले उत्पादनको खपतमा बृद्धि,कृषकको आय आर्जनमा बृद्धि, स्थानीय अर्थतन्त्रको सुद्रिढीकरण र नागरिकमा आत्मनिर्भरताको विकास हुने पालिकाले विश्वास लिएको छ ।
पालिकाले कृषि उत्पादन बढाउने मात्र नभई उत्पादन,प्रशोधन,बजारीकरण र उचित प्रतिफलसहितको मूल्य श्रिंखलाका कृषकको स्वामित्व र सम्मान स्थापित गर्दै फक्ताङलुङलाई अग्र्यानिक कृषि अर्थतन्त्रको नमूना पालिकाको रुपमा विकास गर्ने दीर्घकालिन लक्ष्य निर्धारण गरेको छ । कृषकको समृद्धि उत्पादन र उत्पादकत्व बढाएर मात्र नभई उत्पादनको सुनिश्चित बजार,उचित मूल्य र व्यवस्थित बितरण प्रणाली अनिवार्य रहेको पालिकाको ठहर छ । पालिकाले कृषि उत्पादन अभिबृद्धि देखि मूल्य श्रिंखलालाई सुद्रिढ र व्यवस्थित बनाउने योजनाका साथ कृषि क्षेत्रलाई बिशेष प्राथमिकता दिएको पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
पालिकाले कृषि एम्बुलेन्सको प्रयोग प्रयोजन अघि कृषकको उत्पादनको सहज संकलन,ढुवानी,भण्डारण र बजारीकरणका लागि पालिकाका विभिन्न स्थानमा कृषिउपज उत्पादन संकलन केन्द्र स्थापना गर्ने भएको छ । संकलन केन्द्रमा संकलित कृषि उपजलाई समयमा बजारमा पु-याई कृषकको लागत घटाउने,उत्पादनको क्षति न्यूनीकरण गर्ने र उचित मूल्य सुनिश्चित गर्न कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने तयारी रहेको पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । पालिकाले कृषिजन्य उत्पादनको स्थानीय बजारको विकास र प्रर्वद्धन बाहेक पालिका क्षेत्रमा उत्पादित कृषि उपज,स्थानीय रैथाने प्रजाति,जडिबुटी र मौलिक उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारसंग जोड्न पहल गर्ने भएको छ । फक्ताङलुङ गाउँपालिका जडिबुटीको समेत बलियो सम्भावना भएको क्षेत्र हो ।