‘शक्तिपीठ पाथीभरा’पुस्तकको बिमोचन,पुस्तक नेपाली,अंग्रेजी र हिन्दी तीन संस्करणमा प्रकाशित
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ४ । ताप्लेजुङस्थित पाथीभरा मन्दिरका बिषयमा नेपाली,अंग्रेजी र हिन्दी गरी तीन संस्करणमा तयार गरिएको ‘शक्तिपीठ पाथीभरा’नाम रहेको पुस्तकको शुक्रवार बिमोचन गरिएको छ ।
पाथीभरा क्षेत्र विकास समितिले प्रकाशित गरेको पुस्तकको कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री गीता तिम्सिनाको उपस्थितिमा बिमोचन गरिएको हो । कोशी सरकारका सामाजिक विकास मन्त्री तिम्सिनाको प्रमुख आतिथ्यता तथा कोशी सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्यद्धय खगेनसिं हाङगाम र निर्मला तावा,फुङलिङ नगरप्रमुख अमिर मादेन,मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगाम,प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालसहित सुरक्षा निकायका प्रमुखहरुले एकसाथ बिमोचन गर्नु भएको हो ।
हर्कराज गुरुङको लेखन तथा सम्पादन रहेको उक्त पुस्तक तयार पार्न टंक भट्टराई,डिल्ली निरौला,मानबहादुर गुरुङ,सन्तोष पुर्कुटी,नवीन निरौला,अनिल खड्का र सारदा अधिकारीको सहयोग रहेको क्षेत्र विकास समितिले जनाएको छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार पुस्तक एकहजारप्रति प्रकाशित गरिएको छ ।
पवित्रा प्रिन्टिङ प्रेस बागबजार काठमाडौंमा मुद्रण गरिएको पुस्तकको आवरण पाथीभरा क्रिएशन हाउस ताप्लेजुङले तयार पारेको हो । पुस्तकको लेखन तथा सम्पादन गुरुङले गर्नु भएको हो भने अंग्रेजी संस्करण डिल्लीप्रसाद न्यौपाने र हिन्दी संस्करण सारदा अधिकारीले संयोजन गर्नु भएको छ । चिनारी र आवरणका विवरण बाहेक पुस्तक ८७ पृष्ठको रहेको छ । नेपाली संस्करण ७ देखि ३४ पृष्ठ,अंग्रेजी संस्करण ३५ देखि ५० पृष्ठ र हिन्दी संस्करण,५१ तथा देखि ६१ पृष्ठमा समेटिएको छ । पुस्तकमा पाथीभराको चिनारीलाई मुख्य केन्द्र बनाएर विवरण प्रस्तुत गरिएको छ ।