पाथीभरा केवलकार बिबाद:१८ जना आफ्नो नियन्त्रणमा रहेको ताप्लेजुङ प्रहरीको भनाई

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन १६ । ताप्लेजुङ प्रहरीले फागुन १० गते साँझ फुङलिङको वीरेन्द्र चौकमा भएको घटना पछि ‘हुलदंगा र अपराधिक उपद्रव’गरेको अभियोगमा ‘नो केवलकार’पक्षका १८ जना नियन्त्रणमा रहेको बताएको छ ।

प्रहरी नियन्त्रणमा रहेका १८ जनामध्ये ४ जना भने बिभिन्न कसुरमा यसअघि नै सजाय पाएका व्यक्तिहरु समेत रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । वस्नेतका अनुसार पटके मुद्दामा देखिएका ४ जनामध्ये कसैको सार्वजनिक अपराध,कसैको अभद्र व्यवहार र कसैको लागु औषध बिरुद्धको कसुर देखिएको छ । प्रहरीले पहिलोपटक १५ जना र बिभिन्न समयमा गरी ३ जना गरी १८ जना नियन्त्रणमा रहेको बताएको छ ।

पछिल्लोपटक पाँचथरको याङवरक गाउँपालिका वडा नं २ का ४३ बर्षिय इन्दिरा शर्मा धौराली,ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ५ बस्ने ३७ बर्षिय सुवास तुम्बाहाम्फे र सोहि गाउँपालिका वडा नं ६ बस्ने २९ बर्षिय सन्दीप लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ताप्लेजुङका ३ सहित पाँचथर,सुनसरी,झापा,मोरङ र तेह्रथुमका समेत गरी १८ जना आफ्नो नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।

मुम्कुमलुङ(पाथीभरा)पदयात्रा सकेर फर्किएको ‘नो केवलकार’पक्षले फुङलिङमा प्रर्दशन गरेको राँके जुलुस नियन्त्रण गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको थियो । झडपमा दुबैतर्फका गरी कम्तिमा २४ जना घाइते भएका थिए । आन्दोलनरत पक्षले भने ३० भन्दा बढी आफ्ना कार्यकर्ता पक्राउ परेको दावी गरेको थियो । प्रहरीले सुरुमा १५ र त्यसपछि ३ जना गरी नियन्त्रणमा रहेका १८ जनाको नाम सार्वजनिक गरेको छ ।

Similar Posts