सामूदायिक वन दिवसमा उत्कृष्ट समूह र व्यक्ति पुरस्कृत
ताप्लेजुङ, साउन २५ । ताप्लेजुङमा उत्कृष्ट सामूदायिक वन समूह र निजी वनका धनी (व्यक्ति) पुरस्कृत भएका छन् । सामूदायिक वन दिवस–२०७७ को अवसरमा आइतबार सदरमुकाम फुङ्लिङमा आयोजित कार्यक्रमकाबीच वन समूह र व्यक्ति पुरस्कृत भएका हुन् ।
सामूदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) जिल्ला महासङ्घ ताप्लेजुङले आयोजना गरेको कार्यक्रममा उत्कृष्ट तीनवटा वन समूह र दुईजना व्यक्तिलाई डिभिजन वन कार्यालय ताप्लेजुङले पुरस्कृत गरेको हो । वन समूहतर्फ देउराली भित्री सामूदायिक वन उपभोक्ता समूह फुङ्लिङ नगरपालिका–९ हाङ्देवालाई नगद १५ हजार रुपियाँ र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।
यस्तै लालीगुराँस सामूदायिक वन उपभोक्ता समूह मिक्वाखोला गाउँपालिका–३ लिबाङ र मुर्मुच्यान सामूदायिक वन उपभोक्ता समूह मेरिङ्देन गाउँपालिका–३ खाम्लुङ पुरस्कृत भएका छन् । उक्त समूहलाई क्रमशः नगद पुरस्कार १२ हजार र आठ हजार रुपियाँ तथा प्रमाणपत्र प्रदान गरिएको डिभिजन वन कार्यालय ताप्लेजुङका डिभिजनल वन अधिकृत वीरेन्द्र शाहले जानकारी दिनुभयो ।
निजी वनतर्फ फुङ्लिङ नगरपालिका–१ का गणेश मादेन लिम्बूलाई १५ हजार रुपिपाँ र प्रमाणपत्र तथा पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेका खड्गबहादुर पौडेललाई नगद १० हजार रुपियाँ र प्रमाणपत्रले पुरस्कृत गरिएको छ । वन समूह र निजी वनका धनीमध्ये सक्रिय साथै व्यवस्थित रुपमा वन व्यवस्थापनमा सङ्लग्नलाई छनोट गरी पुरस्कृत गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
यता फेकोफन ताप्लेजुङले आयोजना गरेको कार्यक्रममा वन व्यवस्थापन र चुनौती विषयमा अन्तक्र्रिया गरिएको छ । स्थानीय समूदाय अर्थात उपभोक्ताको आयआर्जन र उनीहरुलाई आत्मनिर्भर बनाउने आधारको रुपमा विकास गर्नेगरी वन जङ्गलको संरक्षण वा व्यवस्थापनमा लाग्नुपर्ने अबको आवश्यकता भएको सरोकारवालाले बताएका छन् ।
सडक, जलविद्युत लगायतका पूर्वाधार विकास निर्माणका क्रमले वन जङ्गलमा क्षति पुर्याउँदै आएको हुँदा वन नीतिमा भएको व्यवस्थालाई पालना गर्नु अपरिहार्य रहेको सरोकारवालाको भनाइ छ । वैकल्पिक जमिन र नास हुनजाने एउटा रुखको सट्टा १० वटा बिरुवा रोप्नुपर्ने प्रावधानलाई कार्यान्वयन गरेमा विकास निर्माणसँगै वनको संरक्षण पनि हुनेमा जोड दिइएको छ ।
कार्यक्रममा प्रदेश १ का प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङ, जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख घनेन्द्र मादेन, फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेल, उपप्रमुख बमबहादुर भट्टराई, प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलासहित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी र अन्य सरोकारवालाको सहभागिता रहेको थियो । कोभिड–१९ को प्रभावकाबीच पनि सामूदायिक वन दिवस कार्यक्रम सम्पन्न गरिएको फेकोफन ताप्लेजुङका अध्यक्ष सुरज ओझाले बताउनुभयो ।