| |

ताप्लेजुङमा यसवर्ष साढे १३ प्रतिशतले बढ्यो रोपाइँ

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ ३ । ताप्लेजुङमा यसवर्ष साढे तेह्र प्रतिशत बढी धान रोपाइँ भएको छ । गत वर्षको तुलनामा यसवर्ष पर्याप्त वर्षा भएकाले धान रोपार्इँ बढी क्षेत्रमा भएको हो ।
कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार धान खेती हुने क्षेत्रको ९८.५ प्रतिशतमा रोपाइँ भएको छ । धान खेती हुने पाँच ६६६ हेक्टर क्षेत्रफलमध्ये पाँच हजार ५८१ हेक्टर क्षेत्रफल बराबरको जग्गामा रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख एवम् कृषि प्रसार अधिकृत विजय श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यालय प्रमुख श्रेष्ठका अनुसार गत वर्ष ८५ प्रतिशत क्षेत्र अर्थात चार हजार ७९८ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको थियो । यसवर्ष धान खेतीका लागि पर्याप्त वर्षा भई दिएकाले उल्लेख्य क्षेत्रमा धान रोपाइँ भएको श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष भने आवश्यक वर्षा नभएकै कारण धान रोपाइँमा समस्या भएको थियो ।
गत वर्ष धान रोपाइँ नभएको १५ प्रतिशत क्षेत्रमध्ये करिव १० प्रतिशत पानी अर्थात सिँचाइको अभाव र पाँच प्रतिशत काम गर्ने जनशक्ति अभाव भएको पाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यसवर्ष भने सुरु वर्षा कम भए पनि धान खेती लगाउने मुख्य समयमा पर्याप्त वर्षा भएको छ ।
काम गर्ने जनशक्ति अभावले धान खेतीयोग्य एक प्रतिशतसम्म जमिनमा रोपाइँ नहुनसक्ने कृषि ज्ञान केन्द्रको अनुमान रहेको छ । यद्यपि, भदौ पहिलो सातासम्म नै किसानले रोपाइँ गर्ने भएकाले अब बाँकी रहेको डेढ प्रतिशत अर्थात ८५ हेक्टर क्षेत्रफलमा पनि अधिकांसमा रोपाइँ हुनसक्ने कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ ।
हिमाली जिल्ला भएकाले ताप्लेजुङमा जेठ दोस्रो साता यतादेखि नै धान खेती लगाउन सुरु गरिन्छ । यहाँको लेक भेगमा जेठको दोस्रो सातापछि सुरु हुने धान रोपाइँ असार पहिलो साताभित्र सम्पन्न गर्ने गरिएको छ । त्यस्तै साउनको पहिलो साता सम्ममा मध्य भेग र त्यसपछि भदौ पहिलो साताभित्र औल तथा बेँसी क्षेत्रमा धान रोपाइँ सकिने गरिएको स्थानीय किसानले बताएका छन् ।
किसानका अनुसार अधिकांस क्षेत्रमा बेलगुटी, भँगेरे, अट्टेजस्ता पुरानो रैथाने जातको धान खेती लगाउने गरिएको छ । यस्तै केही क्षेत्रमा सुख्खा–१, खुमल–४ जस्ता उन्नत जातको धान खेतीसमेत किसानले लगाउने गरेका छन् । कुनै वर्ष रोपाइँ गरेर खडेरी लाग्ने हुँदा धान उत्पादन ह्वात्तै घट्ने गरेकोमा यसवर्ष भने रोपाइँपछि पनि वर्षा निरन्तर हुँदा हालसम्म पर्याप्त सिँचाइ भइरहेकाले धान उत्पादन बढ्नसक्ने किसानको अपेक्षा रहेको छ ।

Similar Posts