पुनःनिर्माण तथा पुर्नस्थापनाको सहित चालु आवमा प्रशासन कार्यालयद्धारा साढे ६ करोड बढी रकम राहत बितरण

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन १० । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पुनःनिर्माण तथा पुर्नस्थापनाको सहित चालु आवको माघ महिना सम्ममा साढे ६ करोड बढी रकम राहत बितरण गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहनु भएकी सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार चालु आवको माघ महिनामा सम्ममा ६ करोड ६३ लाख २० हजार रुपैयाँ राहत बितरण गरिएको छ । यो रकम पुनःनिर्माण तथा पुर्नस्थापनाको सहितको रहेको प्रशासन कार्यालयले जनाएको छ । प्रकृया पूरा गरी आएका विपद् प्रभावित क्षेत्रको पुनःनिर्माण तथा पुर्नस्थापनाका लागि माघ महिनामा मात्र प्रशासन ६ करोड ४८ लाख ५० हजार रुपैयाँ निकासा गरेको जनाएको छ ।
विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७९ को नं ५ को (घ) बमोजिम विपद् प्रभावित परिवार,समुदायको जीविकोपार्जन तथा पुर्नस्थापना र विपद्बाट क्षति भएका संरचनाको पुनःनिर्माणका लागि संघीय सरकार,सम्वन्धित स्थानीय तह,सम्वन्धित प्रदेश सरकारको समेत समपुरक अनुदान हुनेगरी विपद् व्यवस्थापन प्राधिकरणमार्फत यस्तो राहत रकम बितरण हुने गरेको छ । ताप्लेजुङको सिदिङ्वा,सिरिजङ्गा र मैवाखोला गाउँपालिका क्षेत्रमा अघिल्लो बर्ष बाढी,पहिरो सहितका विपद्ले नराम्रो क्षति पु¥याएको थियो ।
कार्यविधिको नं ६(घ)को व्यवस्था अनुसार प्रदेश र स्थानीय तहको हकमा ३० प्रतिशत सम्म लागत सहभागिता रहनेगरी पुनःनिर्माण तथा पुर्नस्थापना कार्यक्रममा नेपाल सरकारले बाँकी ७० प्रतिशत लागत व्यहोर्ने व्यवस्था रहेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आवमा बितरण गरेको राहत रकम पुनःनिर्माण तथा पुर्नस्थापनाको सहित चालु आवमा भएका सबै किसिमका विपद् प्रभावितलाई बितरण गरिएको रकम हो ।
चालु आवमा ६ जनाले लिए गैर आवासीय नागरिकता
चालु आवको माघ महिना सम्ममा ताप्लेजुङबाट ६ जनाले गैर आवासीय नेपाली नागरिकता लिएका छन् । प्रशासन कार्यालयका अनुसार माघ महिनामा १ जनाले गैर आवासीय नेपाली नागरिकता लिएका छन् । गत साउन देखि पुस मसान्तसम्ममा ५ जनाले गैर आवासीय नेपाली नागरिकता लिएका थिए ।
अघिल्लो आव २०८०।८१ को एकबर्षे अवधिमा ६ जनाले गैर आवासीय नेपाली नागरिकता लिएका थिए । चालु आवको ७ महिनाकै अवधिमा अघिल्लो आव बराबरकै संख्याका व्यक्तिले गैर आवासीय नेपाली नागरिकता लिएका छन् ।
४ जनाले लिए बैबाहिक अंगीकृत नागरिकता
माघ महिनामा २ सहित चालु आवमा अहिले सम्म ४ जनाले बैबाहिक अंगीकृत नागरिकता लिएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी खड्काका अनुसार गत साउन देखि पुस मसान्त सम्ममा २ जनाले बैबाहिक अंगीकृत नागरिकता लिएका थिए ।