९६ हजार २८३ जनाले गराए मतदाता नामावली दर्ता

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ७ । ताप्लेजुङमा अहिलेसम्म ९६ हजार २ सय ३८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका सूचना अधिकारी वान्दवराज(विपिन)दुलालका अनुसार ५१ हजार ८ सय १८ पुरुष र ४४ हजार ४ सय २० जना महिलाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । अहिलेसम्म यहाँ तेस्रो लिङ्गी मतदाता नरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । २०८२ सालको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनका क्रममा ९० हजार ३ सय २७ मतदाता कायम भएका थिए । कूल मतदातामध्ये ४८ हजार २ सय ८५ पुरुष र ४२ हजार ४२ जना महिला रहेका थिए ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार आर्थिक बर्ष २०८२।८३ भित्रमा १ हजार १ सय ७७ पुरुष र ९ सय ४० महिला गरी कूल २ हजार १ सय १७ जनाले कार्यालयमा उपस्थित भएर जैविक विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गरेका थिए ।

राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा ८ सय ६३ पुरुष र ५ सय ९७ महिला गरी १ हजार ४ सय ६० जना गरी एक आर्थिक बर्षमा २ हजार ४० पुरुष र १ हजार ५ सय ३७ महिला मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएको समेत निर्वाचन कार्यालयले जनाएको छ । उक्त आवमा १० महिला र ३१ पुरुष गरी ४१ जनाले मतदाता नामावलीको प्रतिलिपि प्रमाणिका लागि जिल्ला निर्वाचन कार्यालयमा निबेदन दिएको समेत कार्यालयले जनाएको छ ।

अघिल्लो आवमा ७ सय ७४ जनाले ठेगाना सारेका,१ सय २३ जनाले त्रुटी सच्याएका,२ सय ४ जनाको नाम हटाईएको र १ सय ७० जनाको दोहोरो मतदाता नामावली हटाईएको समेत जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी दुलालले जानकारी दिनुभयो । राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गरेका तर मतदाता नामावलीमा नाम दर्ता नभएका व्यक्तिहरुले अनलाइनबाट नै मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने समेत जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

Similar Posts