प्रकाशक पन्दाकलाई हेमा लिम्बू फोनिज पत्रकारिता पुरस्कार

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १ । ताप्लेजुङबाट प्रकाशित उज्यालो पोष्ट दैनिकका प्रकाशक चन्द्रबहादुर पन्दाक‘प्रयास’ हेमा लिम्बू(सविता)फोनिज पत्रकारिता पुरस्कार २०८३ बाट पुरस्कृत हुनु भएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को २७ औं स्थापना दिवसको अवसरमा नेपाल फोनिज ताप्लेजुङले पत्रकार पन्दाकलाई १० हजार रुपैयाँ राशीको हेमा लिम्बू(सविता)फोनिज पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । फोनिजका संघीय सचिव तथा पत्रकार महासंघका केन्द्रीय सदस्य माला पालुङ्वा, हेमा लिम्बू(सविता)फोनिज पत्रकारिता पुरस्कार अक्षयकोषदाताका प्रतिनिधि खगेन्द्र फेम्बु लिम्बू तथा फोनिज ताप्लेजुङका अध्यक्ष दिलकुमार फेम्बुले पत्रकार पन्दाकलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नु भएको छ् । पन्दाक गोरखापत्र दैनिकका ताप्लेजुङ समाचारदाता समेत हुनुहुन्छ । विगत १८ बर्षदेखि सक्रिय पत्रकारितामा रहनु भएका पन्दाक फोनिजको लेखा आयोगका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । प्रेस सेन्टरका पूर्व पदाधिकारी समेत रहिसक्नु भएका पन्दाक लिम्बू पत्रकार संघका पूर्व कार्यवाहक अध्यक्ष समेत हुनु भएको थियो । उहाँ द्धन्दकालिन पत्रकारितामा समेत संलग्न हुनुहुन्थ्यो ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेप फेम्बु स्थायी घर भई हाल हङकङमा रहनु भएकी हेमा लिम्बू(सविता)ले फोनिज ताप्लेजुङमा १ लाख ५१ हजार रुपैयाँ राशीको अक्षयकोष स्थापना गर्नु भएको छ । अघिल्लो बर्ष स्थापित अक्षयकोषको ब्याजबाट प्राप्त रकमबाट हरेकबर्ष भाषा,संस्कार,संस्कृति र पहिचानको जर्गेनामा सक्रिय एक पत्रकारलाई सम्मान गर्ने फोनिजको निर्णय अनुसार पहिलो बर्ष पन्दाकलाई पुरस्कृत गरिएको फोनिज ताप्लेजुङका सचिव मनु मावो लिम्बूले जानकारी दिनुभयो । पुरस्कार बितरण पछि कार्यक्रमलाई सम्बोधन गर्दै फोनिजका केन्द्रीय सदस्य पालुङ्वाले संस्कार,संस्कृति,सभ्यता र मौलिकताको जर्गेना गर्न पत्रकारिता क्षेत्रको ठूलो भूमिका रहने बताउनुभयो ।

कार्यक्रममा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्का उपाध्यक्ष वाङ्गे शेर्पा,अक्षयकोष दाताका प्रतिनिधि खगेन्द्र फेम्बु,पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य,पूर्व अध्यक्ष खगेन्द्र अधिकारी,पत्रकारका पेशागत संग संगठनकोतर्फबाट प्रेस सेन्टर ताप्लेजुङका अध्यक्ष जीवन कालिकोटेसहितले फोनिजको स्थापना दिवसको अवसरमा शुभकामना दिनु भएको थियो । कार्यक्रममा नेपाल शेर्पा संघका जिल्ला अध्यक्ष दावा शेर्पा,भुजेल सेवा समाजका प्रतिनिधि कुमार खवास,पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष आनन्द गौतम,प्रेस चौतारी नेपाल ताप्लेजुङका कोषाध्यक्ष संगिता कार्कीसहितका सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

Similar Posts