साउन पहिलोसाताबाट अहिलेसम्म १ लाख २५ हजार बढीले पाथीभरा दर्शन गरे : पर्यटन प्रहरी हेल्प डेस्क

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २४ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा पर्ने काफ्लेपाटीमा स्थापना भएको पर्यटन प्रहरी हेल्प डेस्कले गत साउन पहिलो साता देखि फागुन अन्तिम सातासम्ममा १ लाख २५ हजार बढी दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेको अभिलेख राखेको छ ।

गत साउन १० गते काफ्लेपाटीमा पर्यटन प्रहरी हेल्प डेस्क स्थापना भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार साउन १० गते देखि फागुन मसान्त सम्ममा कुल १ लाख २५ हजार ४ सय ५५ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका छन् । मन्दिरको दर्शन गर्नेमा ६६ हजार १ सय २५ जना महिला र ५९ हजार ३ सय ३० जना पुरुष रहेको पर्यटन प्रहरी हेल्प डेस्क काफ्लेपाटीले जनाएको छ ।

पर्यटन प्रहरी हेल्पडेस्क स्थापना भएयता हेल्पडेस्कमार्फत ४६ जना बिरामी दर्शनार्थीलाई औषधि बितरण तथा उद्धार र व्यवस्थापनमा सहयोग गरिएको छ । दर्शन गर्न आएकामध्ये ४६ जनामा टाउको दुख्ने,बान्ता हुने,पखाला चल्ने, ज्वरो आउने र ग्याष्ट्रिक सम्वन्धी समस्या देखिएकोले हेल्पडेस्कमार्फत बिरामीलाई औषधि बितरण तथा उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । बिभिन्न समयमा भएका बन्द हड्तालका क्रममा निश्चित गन्तव्यसम्म जान नसकेका यात्रुलाई जिल्लास्थित अन्य सुरक्षा निकायसंग समन्वय गरी हेल्पडेस्मार्फत स्र्कटिङको प्रवन्ध गरिएको समेत प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

हेल्पडेस्कमार्फत पाथीभरा मन्दिरको दर्शनका लागि आएका दर्शनार्थीले हराएका बिभिन्न मालबस्तु फेला पारी प्रहरीले सम्वन्धित धनीलाई बुझाएको समेत जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गत कात्तिक १ गते धादिङका सानु भण्डारीको सामसुङ मोवाइल १ थान,मंसिर ८ गते ओखलढुङ्गा बस्ने रस्मिता भण्डारीको ब्याग तथा नगद १ हजार ५ सय २० रुपैयाँका साथ लत्ताकपडा र मंसिर १३ गते मोरङ बस्ने उमा बस्नेतको ब्याग,ब्याग भित्र रहेको नगद ६ हजार र चाँदी सहितका गरगहना प्रहरीले सम्वन्धित धनीलाई बुझाएको छ । यस्तै झापा बस्ने मिना रसाइलीका नावालक छोरा तथा तेह्रथुम बस्ने सक्षम श्रेष्ठ अचानक हराएकोमा प्रहरीले फेला पारी आफन्तलाई बुझाएको जनाएको छ ।
पाथीभरा मन्दिरको दर्शनका लागि आएका तीर्थालुलाई बाटोको अवस्था र सावधानी अपनाउनुपर्ने बिषयका बारेमा जानकारी दिदै पर्यटन प्रहरी हेल्पडेस्कका प्रहरी कर्मचारी ।

Similar Posts