७३.५ मेगावाटको मध्य मेवा जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा,विद्युत गृहको परीक्षण गर्ने तयारी

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २६ । मेवा मडेभलपर्स लिमिटेडद्धारा ताप्लेजुङमा निर्माणाधिन ७३.५ मेगावाट क्षमताको मध्य मेवा जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा प्रवेश गरेको छ ।

अर्ध जलाशययुक्त मध्य मेवा जलविद्युत आयोजनाले अबको करिव ५ महिना भित्र(सन् २०२७ जनवरीसम्ममा)विद्युत गृहको परीक्षण गर्ने लक्ष्यसहितको कार्यतालिका बनाएको छ । आयोजनाका वरिष्ठ व्यवस्थापक सुनिल रेग्मीका अनुसार हालसम्म आयोजनाले ९२.३ प्रतिशत समग्र भौतिक प्रगति हाँसिल गरेको छ । व्यवसायिक विद्युत उत्पादनका लागि आवश्यक पर्ने अधिकाँस सिभिल,हाईड्रो मेकानिकल,इलेक्ट्रो मेकानिकल तथा प्रसारण लाइन सम्वन्धी सम्पूर्ण कार्य पूरा भईसकेको रेग्मीले जानकारी दिनुभयो । आयोजना अन्तरगत सिभिलतर्फ मुख्य बाँध सहित इन्टेक,स्पिलवे,हेडपोन्ड,स्टिलिङ बेसिन,डिस्यान्डर लगायत अन्य मुख्य संरचनाहरुको कंक्रिट कार्य पूरा भईसकेको समेत रेग्मीले जानकारी दिनुभयो ।

आयोजनाका लागि आवश्यक पर्ने ५.८ किलोमिटर लामो हेडरेस टनेंल(सुरुङ मार्ग)को सम्पूर्ण उत्खनन् कार्य पूरा भएको आयोजनाले जनाएको छ । हाईड्रो मेकानिकलतर्फ अधिकाँस गेटहरु आयोजनास्थलमा जडान हुन थालेको र पेनस्टक पाइपको जडान कार्य पूरा भएको समेत रेग्मीले जानकारी दिनुभयो । इलेक्ट्रो मेकानिकलतर्फ टर्बाइन,जेनेरेटर तथा अन्य प्रमुख विद्युत उपकरणको जडान कार्य पूरा भई विद्युत उत्पादन परीक्षण गर्न मिल्ने आवश्यक संरचनाहरु तयार भईसकेको समेत रेग्मीले बताउनुभयो । उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा समाहित गर्ने प्रयोजनका लागि आवश्यक पर्ने प्रसारण लाइनका सबै टावरहरुको जडान कार्य सम्पन्न भई केहि सिमित स्थानमा तार तान्ने कार्य समेत अन्तिम चरणमा रहेको आयोजनाले जनाएको छ । आयोजनाको बाँध क्षेत्रमा रेडियल गेट जडान कार्य भइरहेको अवस्थामा गत असार महिनामा आएको बाढीले असर गरेको र बर्षाको समयमा उक्त गेटहरु जडान गर्न असम्भव भएका कारण विद्युत उत्पादन गर्नुपर्ने अवधि करिव तीनमहिना ढिलो हुन पुगेको आयोजनाले जनाएको छ ।

मेवा डेभलपर्स लिमिटेडका प्रवन्ध सञ्चालक भानु पोखरेलले जटिल भौगर्भिक अवस्थाकाबिच अर्ध जलाशययुक्त आयोजना निर्माण गर्नु आफैंमा चुनौतिपूर्ण रहेको बताउँदै बाँधको जग निर्माण तथा स्थिरीकरण कार्य झन् चुनौतिपूर्ण रहेपनि ३५ मिटर अग्लो बाँध निर्माण कार्य पूरा हुनुलाई ठूलो उपलब्धीको रुपमा लिन सकिने प्रतिक्रिया दिनु भएको छ । उहाँले निजी क्षेत्रबाट निर्माणाधिन तथा भविष्यमा निर्माण हुने अर्ध जलाशययुक्त ठूला प्रकृतिका जलविद्युत आयोजनाका लागि प्रोत्साहन मिल्ने विश्वास समेत प्रकट गर्नु भएको छ । जलविद्युतका अधिकाँस पूर्वाधार भूमिगत संरचनामा निर्माण गरिएको र विद्युत गृहमा विद्युत उत्पादन उपकरण समेत जडान भईसकेकोले आयोजनाले अब बाँकी संरचना पूरा गरी विद्युत उत्पादनको परीक्षण गर्ने तयारी गरिरहेको आयोजनाका वरिष्ठ व्यवस्थापक रेग्मीले जानकारी बताउनुभयो । विद्युत गृहमा प्रयोग भएका उपकरणहरु उच्च प्रविधिबाट जर्मनीमा उत्पादन गरिएको हो भने अन्य उपकरणहरु भारतबाट आयात गरिएको आयोजनाले जनाएको छ ।

दैनिक ६ घण्टा पिकिङ समयमा सञ्चालन हुने सो आयोजनाबाट सुख्खा यामको पिक समयमा ७५.०२ गिगावाट आवर,अफ पिक समयमा ६१.५९ गिगावाट आवर र बर्षायाममा २९९.४६ गिगावाट आवर गरी कुल बार्षिक ४२६.०८ गिगावाट आवर विद्युत उत्पादन हुने छ । मेवा मडेभलपर्स लिमिटेडका अध्यक्ष मोहनदास मानन्धरले आयोजना निर्माण सम्पन्नतातर्फ उन्मुख हुनुलाई ‘जलविद्युत क्षेत्रमा एक महत्वपूर्ण सफलता’भन्नु भएको छ । आयोजना सञ्चालनमा आएपछि यसले राष्ट्रिय प्रणालीमा स्वच्छव तथा नविकरणीय उर्जा आपूर्ति गर्दै देशमा उच्च माग हुने समयमा पनि उर्जा सुरक्षा सुद्रिढ गर्ने मानन्धरले विश्वास लिनु भएको छ । आयोजनाले सुख्खा याममा समेत विद्युत उत्पादन बढाउन मेवा खोलाको सहायक सिवा खोलाको वहाव समेत प्रयोग गर्नेगरी प्राविधिक डिजाइन गरेको छ । आयोजनाबाट उत्पादित विद्युत करिव १२ किलोमिटर लामो १३२ केभिएको प्रसारण लाइनबाट नेपाल विद्युत प्राधिकरणको मैवाखोला ढुङ्गेसाँघुस्थित विद्युत सवस्टेशनमा जोडिने छ ।

आयोजनामा स्वपूँजी लगानीकर्ताको रुपमा हाईड्रोइलेक्ट्रिीसिटी एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडिसिएल),नेपाल लाइफ एण्ड इन्स्योरेन्स कम्पनी लिमिटेड,सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड,रुरु जलविद्युत परियोजना लिमिटेड,एनआरएन ग्लोवल भेञ्चर्स प्रालि,नेपाल इन्फास्ट्रक्चर इन्भेष्टमेन्ट फण्ड लिमिटेड लगायतका प्रतिष्ठित संस्थाहरुको सहभागिता रहेको आयोजनाले जनाएको छ । ऋण लगानीतर्फ हिमालयन बैंक लिमिटेडको अगुवाईमा विभिन्न कन्सोर्टियम बैंकहरु आवद्ध रहेका छन् । कम्पनीले प्राथमिक शेयर निष्काशनको समेत तयारी गरिरहेको जनाएको छ ।

Similar Posts