प्रधानमन्त्रीले शपथका बेला आफ्नी छोरी बोकेको फोटो ट्रोलिङ गर्ने शैलीप्रति ध्यानाकर्षण भएको छ :महिला आयोग

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २० । राष्ट्रिय महिला आयोगका प्रवक्ता कृष्णकुमारी पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहले शपथका बेला बोकेको छोरीको फोटो ट्रोलिङ गर्ने प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको कार्यशैलीप्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको बताउनु भएको छ ।

आयोगको बरिष्ठ सदस्य समेत रहनु भएकी पौडेलले अवोध बालिकालाई सामाजिक सञ्जालमा ट्रोलिङ गरेर बालअधिकारको हनन् हुन पुगेको समेत दावी गर्नु भएको छ । आयोगले आइतवार ताप्लेजुङमा गरेको कार्यक्रममा बोेल्दै उहाँले आफ्नो बाबु प्रधानमन्त्री भएको थाहसम्म नहुने अवोध बालिकाको तस्बिरलाई ट्रोलिङ गर्ने कार्य मानव अधिकार र बाल अधिकार दुबै दृष्टीकोणले गलत भएको आयोगको निश्कर्ष रहेको सुनाउनुभयो । पुरुष बिबादित भएको प्रसंगमा श्रीमति गएर श्रीमान्को संरक्षण गर्नुपर्ने गलत परम्परा हावी भएको उहाँको भनाई थियो । यो प्रसंग एमाले नेता महेश बस्नेतकी श्रीमति र बस्नेतलाई कारवाहीको माग गर्दै संघर्षरत शोभा पाठकबिचको कपाल लुछालुछसंग सम्वन्धित रहेको उहाँको इंगित थियो । खतिवडाले अब लैंगिक हिंसा न्यूनीकरण नभई अन्त्य हुनुपर्ने दावी गर्नु भएको छ ।

नेपालको संविधान २०७२ जारी हुँदा संविधान लेख्ने कार्यमा कोहि पनि महिला नरहेको दावी गर्दै उहाँले पुरुषको अपार सहभागितामा तयार भएको संविधानमा महिलालाई मनोमानी हिसावले ३३ प्रतिशत आरक्षण सहितको अधिकार लेखिएको उहाँको भनाई थियो । आफ्नो उपस्थितिका हिसावले कम्तिमा ५० प्रतिशत महिला सहभागिता अनिवार्य हुनुपर्ने लडाइँमा आयोग अहिले पनि संघर्षरत रहेको पौडेलले बताउनुभयो । लैंगिक असामनता र लैंगिक हिंसा अन्त्यका लागि अब तीनै तहका सरकार र यसका सरोकारवालाले बिद्यालय–बिद्यार्थी–समुदाय र सरोकारवालाको सहकार्य जरुरी रहेको पौडेलले बताउनुभयो । उहाँले फुङलिङ नगर क्षेत्रमा जिल्ला स्तरीय व्यवस्थित सेभ हाउस(संरक्षण केन्द्र),महिला कारागार सहितका संरचनाको आवश्यकता महशुष गरेको भन्दै यसको निर्माण र व्यवस्थापनका लागि आयोगकोतर्फबाट सम्वन्धित निकायमा सिफारिस गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले फुङलिङ नगरपालिका सहित यहाँका स्थानीय तहको समन्वयमा सेभ हाउसको आधारभूत संरचना पूरा भएको र यसलाई पूर्णता दिन बाँकी रहेकोले तत्काल यो कार्य पूरा गर्ने कार्यमा सहजीकरण गरिदिन महिला आयोगको ध्यानाकर्षण गर्नुभयो ।

ओझाका अनुसार प्रदेश सरकारको करिव २० लाख रुपैयाँको लागतमा पुरानो भवनलाई जीर्णोद्धार गरी सेभ हाउसको आधारभूत संरचना तयार भएपनि यसलाई पूर्णता दिई थप व्यवस्थापन गर्न बाँकी रहेको छ । यसअघि उपस्थित सञ्चारकर्मी र अन्य सरोकारवालाले जिल्ला तहमा व्यवस्थित र सुरक्षित तवरको सेभ हाउसको अभाव रहेको बिषयमा आयोगको ध्यानाकर्षण गराएका थिए । राष्ट्रिय महिला आयोगका सचिव शंकरहरि आचार्यका अनुसार आयोगले आफ्नो बार्षिक प्रतिबेदनमै देशभर उठेका सवाललाई समेत समेटेर सिफारिस सहितको प्रतिबेदन राष्ट्रप्रमुख समक्ष पेश गर्ने छ । सो भन्दा अघि आयोगले सम्वन्धित सवालको सिफारिस बिषयगत निकायमा सिफारिस समेत गर्न सक्ने आचार्यले बताउनुभयो । संबैधानिक निकायको बार्षिक प्रतिबेदन राष्ट्रपति समक्ष पेश हुने गरेको छ ।

आयोग समक्ष ताप्लेजुङ जिल्ला अस्पतालका मेडिकल अधिकृत यमन कार्कीले लैङ्गिक हिंसा सम्बन्धी एकद्धार संकट व्यवस्थापन केन्द्र(ओसिएमसी)द्धारा पछिल्ला तीनबर्षमा भएका गतिविधि प्रकाश पार्नु भएको थियो । कार्कीका अनुसार ओसिएमसीमा चालु आर्थिक बर्षको बैशाख दोस्रो सातासम्ममा १६ वटा घटना आएका छन् । त्यसमध्ये ८ जना पुरुष पीडित र ८ जना महिला पीडित भएका घटना आएको कार्कीले बताउनुभयो । उहाँका अनुसार आव २०८१।८२ मा ओसिएमसीमा ५१ र आव २०८०।८१ मा ३९ वटा घटना आएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जटाशंकर यादवले पछिल्ला तीन आवमा भएका लैंगिक हिंसाका घटनाको जानकारी अवगत गराउनु भएको थियो । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले लैंगिक हिंसा अन्त्य गर्ने बिषय सामुहिक सहकार्यबाट मात्र सम्भव हुने भएकोले यस कार्यमा सरोकारवाला सबै एकजुट भएर अग्रसर हुनुपर्ने बताउनुभयो ।

Similar Posts