‘नो केवलकार’पक्षधरद्धारा पनि बार्ता सहजीकरण समिति गठन

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ २१ । मुक्कुमलुङ संरक्षक संस्था तथा मुक्कुमलुङ संरक्षण आन्दोलनको सर्मथित राजनीतिक दलहरुकोतर्फबाट पनि बार्ता सहजीकरण समिति गठन भएको छ ।
प्राज्ञ अमर तुम्याहाङ संयोजक रहेको सहजीकरण समितिमा शंकर लिम्बू,राम मादेन र सरस्वता सिंघक(सरु)सदस्य रहेको मुक्कुमलुङ संरक्षक संस्थाहरुकातर्फबाट जारी विज्ञप्तिमा भनिएको छ । मुक्कुमलुङमा भइरहेको आन्दोलन,संघर्षको स्थायी समाधान तथा बार्ताका लागि न्यूनतम् वातावरण बनाउन सहजीकरण समिति गठन गरिएको विज्ञप्तिमा भनिएको छ ।
सरकारले ताप्लेजुङको पाथीभरा क्षेत्रका केवलकार निर्माणका क्रममा उत्पन्न बिबाद देखा परेका समस्या समाधानका लागि सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा आइतवार राति बार्ता समिति बनाएको छ । भट्टराईको नेतृत्वमा रहेको समितिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र शहरी विकास मन्त्रालयका प्रतिनिधि रहने गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।