प्रतिवन्धित माछा समेत भेटिएको भन्दै सशस्त्र प्रहरीद्धारा करिव ६ सय ३० किलो माछा जफत गरी नष्ट
उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर २३ । बिलमा लेखिएको भन्दा फरक भारतीय प्रजातिका माछा समेत भेटिएको भन्दै ताप्लेजुङस्थित सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाले करिव ६ सय ३० किलो माछा जफत गरी नष्ट गरेको छ ।
बिलमा पंगास प्रजातिको लेखिएको तर माछाका काटनमा अर्कै प्रजातिका भारतीय माछा भेटेपछि जफत गरी नष्ट गरिएको सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघा गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठकले जानकारी दिनुभयो । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका पशु प्राविधिक योगेन श्रेष्ठका अनुसार बिलमा उल्लेख भएको भन्दा विपरितका भारतीय प्रजातिका माछा समेत भेटिएकोले विवरण नमिलेका आधारमा नष्ट गरिएको हो । सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघा गुल्मपति पाठकका अनुसार जफत गरिएको माछा स्थानीय जनप्रतिनिधि,नेपाल प्रहरी,भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रतिनिधि र सञ्चारकर्मीको रोहवरमा खाल्डोमा पुरी नष्ट गरिएको छ । सशस्त्र प्रहरीले जफत गरिएको माछा खाल्डोमा खन्याई फिनेल,पेट्रोल,गोबर,नुन र फोहोरजन्य सामग्री समेत लगाएर पुरेको छ ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार माछा ढुवानीका लागि सम्वन्धित माछा फर्म वा सप्लायर्सबाट कुन ठाउँदेखि कुन ठाउँसम्म माछा पुग्ने भन्ने पूर्ण विवरण खुलेको बिल जारी भएको हुनु अनिवार्य छ । यो सहित जुन जिल्लादेखि माछा ढुवानीका लागि उठाईएको हो,त्यो जिल्लाको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट पनि अनुमति प्रदान भएको कागज हुनुपर्छ । विदेशबाट माछा आयात भएको भए क्वारेन टाइन स्वास्थ्य प्रमाणपत्र जारी भएको कागजात समेत हुनुपर्ने भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । सशस्त्र प्रहरी वल नेपालले फुङलिङस्थित चेकपोष्टमा चेकजाँचका क्रममा विलमा लेखिएको विवरण भन्दा फरक अन्य प्रजातिका प्रतिवन्धित भारतीय माछा भेटिएकोले जफत गरी नष्ट गरिएको जनाएको हो । सशस्त्र प्रहरीले गत भदौ २३ गते कागजातबिहिन २ सय ५० किलो माछा समेत जफत गरी नष्ट गरेको थियो ।