आठराई त्रिबेणीका मनिक कोशी प्रदेश स्तरीय वृहत्त प्रतिभा पहिचान प्रतियोगितामा बने दोस्रो
उज्यालो पोष्ट
ताप्लेजुङ,असार १६ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं २ फुलवारीस्थित गुप्तेश्वर माध्यमिक बिद्यालयको कक्षा ९ का छात्रा मनिक फुयाँल कोशी प्रदेश स्तरीय प्रतिभा पहिचान प्रतियोगितामा कोशी प्रदेशमा द्धितीय हुनु भएको छ ।
फुयाँल यसअघि शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले आयोजना गरेको बिद्यालय स्तरीय प्रतिभा पहिचान कार्यक्रममा अभिनय कलातर्फ उत्कृष्ट हुँदै प्रदेश स्तरीय प्रतियोगितामा छनौट हुनु भएको थियो । गत बैशाख १९ गते पालिकाले आयोजना गरेको प्रतिभा पहिचान छनौट प्रतियोगितामा उत्कृष्ट भएर जिल्ला स्तरीय प्रतिभा पहिचान कार्यक्रममा सहभागी हुनु भएका मनिकले जिल्ला स्तरीय प्रतियोगितामा समेत उत्कृष्ट प्रर्दशन गरेपछि निर्णायक मण्डलले दिएको अंकमा आधारमा शिक्षा विकास तथा समन्वय इकाईले प्रदेश स्तरीय प्रतियोगिताका लागि सिफारिस गरेको थियो ।
असार १६ गते सुनसरीको ईटहरीस्थित एसओएस हर्मन माइनर माध्यमिक बिद्यालयमा सम्पन्न कोशी प्रदेश स्तरीय प्रतियोगितामा मनिकको अभिनयले दोस्रो स्थान हाँसिल गरेको हो । मनिकलाई कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले नगद ७ हजार सहित पुरस्कृत गर्नु भएको आठराई त्रिबेणी गाउँपालिकाले जनाएको छ । मनिकले कोशी प्रदेश स्तरीय भाषा तथा साहित्य बिधाको अभिनय उपबिधामा दोस्रो स्थान हाँसिल गरेपछि आठराई त्रिबेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले सामाजिक सञ्जालमा खुसी साट्दै प्रतिश्पर्धी मनिकको आगामी अभिनय कलाको उन्नतीको कामना गर्दै पालिकाको शिक्षा शाखा,गुप्तेश्वर माध्यमिक बिद्यालय र मनिकका परिवारप्रति आभार प्रकट गर्नु भएको छ ।