जिसस ताप्लेजुङको सभा : फुङलिङ–फुङफुङगे कालोपत्रे गर्ने देखि अलैंची सुपरजोन सम्मका योजनाको प्रस्ताव

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १६ । जिल्ला समन्वय समिति ताप्लेजुङको ९ औं जिल्ला सभाले ताप्लेजुङमै रहनेगरी खानेपानी कार्यालय माग गर्ने देखि फुङलिङ देखि मिक्वाखोलामा रहेको फुङफुङ्गे झरनासम्म कालोपत्रे गर्ने सहितका निर्णय गरेको छ ।

जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले जिल्ला सभाबाट पारित भएका बिषय संघ र प्रदेश सरकार समक्ष सिफारिस गरिने जानकारी दिनुभयो । ताप्लेजुङमा खानेपानी कार्यालयको काम अहिले पाँचथरमा रहेको कार्यालयबाट हुँदै आएको छ । सभाले सुकेटार बिमानस्थलमा उत्तर र दक्षिण दुबैतर्फबाट बिमान अवतरण गर्न सक्नेगरी बिमानस्थल बिस्तार,सुधार र व्यवस्थापनका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय समेत लिएको छ । अलैंचीको जिल्ला भनेर चिनिने ताप्लेजुङलाई अलैंचीको सुपरजोन कार्यक्रम कार्यान्वयन गर्ने जिल्लाको रुपमा रुपान्तरण गर्न समेत प्रदेश सरकार समक्ष सिफारिस गर्नेगरी सभाले निर्णय गरेको छ । ताप्लेजुङ नेपालमै सबैभन्दा बढी अलैंची उत्पादन हुने जिल्लाको रुपमा परिचित छ । तर,यहाँ अलैंची जोन मात्र रहेको छ ।

खोला तथा नदी किनारका बस्ति दोभान,याम्फुदिन,थिवा तथा छिरुवा बस्ति नजिक ठूलो पर्खालको सीमाना लगाउन समेत सभाले संघ र प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको जिसस प्रमुख लामाले जानकारी दिनुभयो । सभाले ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीमा अहिले रहेको नयाँ पक्की पुल छेउमा प्रवेशद्धार निर्माणको प्रकृया समेत अघि बढाउने सभाले निर्णय लिएको छ ।

जिल्ला सभाको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य क्षितिज थेबेले संविधानको संस्थागत विकास र संघीयताको प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता रहेको औंल्याउनुभयो । थेबेले जनप्रतिनिधिका हिसावले आफुले ताप्लेजुङको विकास र समृद्धिको अभियानका मुद्दाहरुमा निरन्तर पैरवी र पहलकदमी गरिरहेको बताउनुभयो । कार्यक्रममा फुङलिङ नगरप्रमुख अमिर मादेन,जिसस उपप्रमुख कृष्णप्रसाद लिङखिम,पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा,प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँ सहितले ९ औं जिल्ला सभा सफलताको शुभकामना दिनु भएको थियो ।

Similar Posts