ताप्लेजुङमा २५ प्रतिशत क्षेत्रमा धान रोपाँइ

उज्यालो पोष्ट
ताप्लेजुङ,असार १५ । ताप्लेजुङमा मध्य असारसम्ममा २५ प्रतिशत क्षेत्रमा धानबाली लगाईएको छ ।

कृषि ज्ञान केन्द्र ताप्लेजुङका बाली विकास अधिकृत मूना न्यौपाने दाहालका अनुसार यसबर्ष पानी पर्याप्त मात्रामा परेकोले समयमै साविक भन्दा धेरै क्षेत्रफलमा धान बाली लगाईएको हो । न्यौपानेका अनुसार ताप्लेजुङमा यसबर्ष ५ हजार ६ सय १३ हेक्टर क्षेत्रफलमा धानखेति लगाउने प्रक्षेपण गरिएको छ । पानी पर्याप्त मात्रामा परेको र आकाशे पानीको भरपर्नुपर्ने क्षेत्रमा समेत धानखेति लगाउन सकिने देखिएकोले साविक भन्दा बढी क्षेत्रमा धानबाली लगाउने प्रक्षेपण गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यसैबिच ताप्लेजुङका स्थानीय तहले सोमवार ‘जलवायुमैत्री प्रविधि,धानमा आत्मनिर्भरता र समृद्धि’भन्ने नाराका साथ सोमवारको दिनलाई धान रोपाँईमा सर्मपित गर्दै २३ औं राष्ट्रिय धान दिवस कार्यक्रम मनाएका छन् । फुङलिङ नगरपालिका,आठराई त्रिबेणी गाउँपालिका सहितले राष्ट्रिय धान दिवस मनाएका छन् । आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमूले यसबर्षको धान दिवस पालिकाको वडा नं ३ हाङपाङमा मनाईएको जानकारी दिनुभयो ।

फुङलिङ नगरपालिका क्षेत्रमा कृषि ज्ञान केन्द्रको सहयोगमा राष्ट्रिय कृषक समूह महासंघ नेपाल जिल्ला समन्वय समितिको अगुवाईमा धान दिवस मनाईएको समिति अध्यक्ष कृष्णकुमार बस्नेतले जानकारी दिनुभयो । मैवाखोलामा भने राष्ट्रिय धान दिवसको औपचारिक कार्यक्रम नगरिएको पालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । यसबर्ष ताप्लेजुङका विभिन्न स्थानीय तहले आफु अनुकुल कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाएका छन् ।

Similar Posts