ताप्लेजुङको आईटी एकेडेमी–जहाँ सप्तरी देखि पाँचथरसम्मका युवाहरु पढ्न आउँछन्

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १४ । मधेस प्रदेशको सप्तरीका जीवन यादवलाई ग्राफिक डिजाइन सम्वन्धी कोर्ष गर्ने मन थियो । उहाँ मनमनै त्यसका लागि काठमाडौं जाने सोचिरहेका थिए । त्यही बेला सामाजिक सञ्जालमार्फत ताप्लेजुङमा आइटी एकेडेमी रहेको र त्यहाँ ग्राफिक डिजाइन सम्वन्धी पढाई हुने थाह पाउनुभयो । यता,आइटी एकेडेमीले ग्राफिक डिजाइन र वेब डेभलपमेन्ट सम्वन्धी तालिमका लागि आबेदन समेत खुलायो । जीवनले पढाईका लागि आबेदन दिनुभयो र तालिमका लागि नाम समेत निकाल्नुभयो । जीवन कोठा भाडामा लिएर ताप्लेजुङको आईटी एकेडेमीमा भर्ना हुनुभयो ।

आइतवार ६ महिनाको तालिम पूरा गरेर दीक्षान्तको प्रमाणपत्र लिदाँ जीवनले विगत सम्झिनुभयो । काठमाडौं भन्दा बसाई,खानपिन र अन्य कुराको सहजताले उहाँलाई ताप्लेजुङको आईटी एकेडेमी सुविधायुक्त लागेछ । पाँचथरका सम्बेग कुरुम्बाङ पनि सोमवार जीवनसंगै दीक्षित हुनुभयो । ६ महिनाको ग्राफिक डिजाइन तालिम सकेर दीक्षित भएका उहाँ आफुले प्राप्त गरेको सीपको उपयोग गरेर व्यवसायिक बन्ने सोचमा रहनु भएको छ । जीवन र सम्बेग ग्राफिक डिजाइन र वेब डेभलपमेन्ट सम्वन्धी तालिमबाट दीक्षित हुने केही प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । आइटी एकेडेमीका प्रमुख बसन्त पालुङ्वाका अनुसार आइटी एकेडेमीबाट अहिलेका ६० बाहेक २ सय ६ जना दीक्षित भइसकेका छन् । पालुङवाका अनुसार आइटी एकेडेमीमा सप्तरी देखि पाँचथर र ताप्लेजुङका युवाहरु पढाईका लागि भर्ना भइरहेका छन् । आइटी एकेडेमीबाट दीक्षित भएकाहरु अहिले नेपाल बाहेक विश्व बजारका विभिन्न कम्पनी तथा निकायका ग्राफिक डिजाइन र वेब डेभलपमेन्ट सम्वन्धी काम लिएर आर्थिक उर्पाजन समेत गर्न थालेका छन् । अहिलेसम्म दीक्षित भएकाहरुले करिव १ लाख अमेरिकी डलर बराबर आम्दानी गर्न सकेको आइटी एकेडेमीका प्रमुख पालुङ्वाले जानकारी दिनुभयो ।

यसबर्ष कोशी प्रदेश सरकारको उद्योग,कृषि तथा सहकारी मन्त्रालयको बजेट व्यवस्थापनमा घरेलु तथा साना उद्योग कार्यालयमार्फत ग्राफिक डिजाइनका ३० र वेब डेभलपमेन्टका ३० गरी ६० जनाले अध्ययन पूरा गरेका छन् । ग्राफिक डिजाइन सम्वन्धी तालिममा हिमालयन सामाजिक परामर्श तथा तालिम केन्द्र र वेब डेभलपमेन्ट तालिममा अर्ल इलेक्ट्रोनिक्स एण्ड टेक्निकल इन्सटिच्युटको प्राविधिक सहयोग गरेको थियो । आइटी एकेडेमी भानुजन माविको नियमनमा व्यवस्थित हुँदै आएको छ । आईटी एकेडेमीका संस्थापक डेनमार्कका नागरिक वाल्डेम्बर स्मिथ हुनुहुन्छ । भानुजन माविको हाताभित्र निर्मित आईटी एकेडेमी २०२३ को नोभेम्बर २२ तारेखका दिनबाट सञ्चालनमा आएको हो । वाल्डेम्बरलाई एकेडेमीले ‘लगानीका पिता’भनेर सम्बोधन गर्ने गरेको छ । वाल्डेम्बरको संयोजन र ह्युमन प्राक्टिस फाउण्डेसन सहितका निकायको सहजीकरणमा करिव ५ करोड रुपैयाँको लागतमा निर्माण भएको आइटी एकेडेमीको २०८० साल मंसिर ६ गते उद्घाटन गरिएको थियो । त्यसयता उक्त आइटी एकेडेमीमा झण्डै अढाई सय बढी बिद्यार्थी ग्राफिक डिजाइन र वेब डेभलपमेन्ट सम्वन्धी बिषयमा दीक्षित भइसकेका छन् ।

ग्राफिक डिजाइन र वेब डेभलपमेन्ट सम्वन्धी तालिमबाट दीक्षित बिद्यार्थीहरुलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य तथा कोशी सरकारका पूर्वमन्त्री खगेनसिं हाङगामले दीक्षित बिद्यार्थीको दक्षताको उचित प्रयोगले विश्व बजारको अर्थतन्त्रसंग प्रतिश्पर्धा गर्न सक्ने सम्भावना रहेको औंल्याउनुभयो । सूचना र प्रविधिको युग भएकोले अहिलेको समयमा ग्राफिक डिजाइन सहितको दक्षताको उपयोग गरेर मानिस आफैं व्यवसायिक बन्न सक्ने हाङगामको भनाई थियो । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख लक्ष्मी सुहाङले घरेलु कार्यालयको समन्वयमा ग्राफिक डिजाइन र वेब डेभलपमेन्ट सम्वन्धी यो पहिलो तालिम सञ्चालन भएको बताउनुभयो । भानुजन मावि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष युगराज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा दीक्षित बिद्यार्थीले आफ्नो सिकाईको अनुभव र प्राप्त सीपको उपयोगमार्फत आर्थिक उर्पाजनमा पुग्दै आएको टेवाका बिभिन्न आयाम बारे बताएका थिए ।

Similar Posts