५० प्रतिशत अनुदानमा आठराई त्रिबेणीद्धारा ३४ लाख मूल्य बराबरको अलैंचीका बिरुवा र सिचाँई सामग्री प्रदान
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा पालिकाको वडा नं २ फुलवारीका किसानले पाउनेगरी अलैंचीका बिरुवा,सिचाँई सामग्री र स्प्रेयर सहितका सामग्री दिएको छ ।
फुलवारीका करिव ५० परिवारले पाउनेगरी अलैंचीका बिरुवा,सिचाँई सामग्री र स्प्रेयर सहितका सामग्री बितरण गरिएको पालिकाको कृषि विकास शाखा प्रमुख सञ्जु दाहाल पौडेलले जानकारी दिनुभयो । दाहालका अनुसार पालिकाको १७ लाख र किसानको साझेदारी थप १७ लाख गरी कुल ३४ लाखको लगानीमा उक्त सामग्री बितरण गरिएको हो । रामसाई र भार्लाङ्गे प्रजातिका बिरुवा फुलवारी बहुउद्देश्य सहकारी संस्थामार्फत इलामबाट खरिद गरी किसानलाई बितरण गरिएको पालिकाको कृषि शाखाले जनाएको छ ।
पालिकाका उपाध्यक्ष शान्ताकुमारी आङवुहाङ नेतृत्वको अनुगमन समितिले कार्यक्रमको अनुगमन पश्चात गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू,प्रमुख प्रशासकीय अधिकृत अजय राजवंशी,पालिकाको वडा नं २ फुलवारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङ,कार्यपालिका सदस्य शारदाकुमारी बिमली सहितको उपस्थितिलाई किसानलाई अलैंचीको बिरुवा र सिचाँईका सामग्री बितरण गरिएको फुलवारी बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष गुलसन प्रधानले जानकारी दिनुभयो । अलैंचीका बिरुवा,सिचाँई सामग्री बितरण गर्दै पालिका अध्यक्ष पोमूले प्राप्त अनुदानको उचित सदुपयोगमा किसान सम्बेदनशिल हुने र आर्थिक उर्पाजनमा ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।