युवालाई उद्यमसंग जोड्ने फक्ताङलुङको योजना,नयाँ उद्यममार्फत रोजगारीको अवसर सृजना गर्ने लक्ष्य
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १३ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले युवा उद्यमशिलता र रोजगारी सृजनालाई प्राथमिकतामा राखी सीपमूलक तथा व्यवसायिक तालिम सञ्चालन गर्ने भएको छ ।
पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)का अनुसार युवाको क्षमता विकास,नेतृत्व अभिबृद्धि,उद्यमशिलता प्रर्वद्धन र स्वरोजगार सृजनामा टेवा पुग्ने उद्देश्यसहित सीपमूलक तथा व्यवसायिक क्षमता विकासका कार्यक्रम अघि बढाईन लागेको हो । पालिकाले सम्भावित युवा उद्यमीको आवश्यकताको पहिचान गरी स्थानीय स्रोत,सीप र बजारसंग जोडिएका उद्यम विकासका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । प्लम्बिङ,इलेक्ट्रिसियन,ढाका बुनाई,बाँसजन्य हस्तकला,झोला बुनाई,गलैंचा बुनाई,डल तथा कुसन निर्माण लगायतका स्थानीय सम्भावनामा आधारित सीपमूलक तालिमलाई पालिकाले निरन्तरता दिँदै माग र बजारको सन्तुलनका आधारमा अरु थप नयाँ किसिमका घरेलु सामान उत्पादन सम्वन्धी क्षमता विकासका कार्यक्रम अघि बढाउने पालिकाको योजना रहेको छ ।
महिला तथा युवालाई आत्मनिर्भर बनाउन तालिमसंगै प्रविधि,बीउपुँजी,अनुदान तथा उत्पादित बस्तुको बजारीकरणमा पालिकाले सहयोग गर्ने बताएको छ । ढाका कपडा,बाँसजन्य हस्तकला तथा अन्य स्थानीय उत्पादनको ब्राण्डिङ,मूल्य अभिबृद्धि र बजार बिस्तारका लागि पालिकाले सहजीकरण गर्ने समेत बताएको छ । बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको ज्ञान,सीप र अनुभवलाई उद्यम तथा उत्पादनसंग जोड्नेगरि पुनःएकीकरणका कार्यक्रम सञ्चालन गर्ने पालिकाले तयारी छ । अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन सीप विकास,उद्यम प्रर्वद्धन,समूह गठन,बीउपुँजी,नेपाली हाते कागज उत्पादन,पुर्नस्थापना तथा स्वास्थ्य सहयोग कार्यक्रमलाई पालिकाले बिशेष प्राथमिकता दिएको पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
युवा स्वयंसेवा,नवप्रर्वतन,सामाजिक नेतृत्व तथा सामुदायिक विकासमा युवाको उल्लेख सहभागिता गराउने कार्यक्रम पालिकाको प्राथमिकतामा रहेको छ । स्थानीय उत्पादन देखि कृषि,पर्यटन,जडिबुटी,हस्तकला तथा सेवा क्षेत्रमा युवाको उद्यमशिल सहभागिता बिस्तार गरी गाउँमै रोजगारी सृजना गर्ने पालिकाले योजना बनाएको छ । युवालाई सक्षम,सीपयुक्त,आत्मनिर्भर तथा उत्पादनशिल नागरिकको रुपमा विकास गर्ने योजना अनुरुप स्थानीय कच्चा पदार्थको उपलब्धताका आधारमा घरेलु सामग्री उत्पादनसंग जोडी उचित बजारीकरणका आधारमा आर्थिक रुपले स्वनिर्भर बनाउने कार्यक्रम पालिकाको योजनाको रुपमा रहेको समेत पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।