नगरक्षेत्रका पर्यटकीय स्थलको सूची,पुस्तक र पर्यटन सूचना बोर्ड बनाउने तयारीमा फुङलिङ नगर पर्यटन विकास समिति
खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन २ । ताप्लेजुङको फुङलिङ नगर पर्यटन विकास समितिले नगरक्षेत्रका पर्यटकीय स्थलहरुको सूची,पर्यटन परिचय पुस्तक र पर्यटन सूचना बोर्ड बनाउने भएको छ ।
नगर पर्यटन विकास समितिले सरोकारवालासंग उल्लेखित तीनवटा बिषयमा समावेश गर्नुपर्ने थप सन्दर्भका बारेमा आवश्यक राय समेत लिएको छ । नगर पर्यटन विकास समितिका अध्यक्ष हर्कराज गुरुङका अनुसार नगरपालिका क्षेत्रमा रहेका प्रमुख पर्यटकीय स्थल तथा पर्यटकीय आर्कषणका सम्भावनाका बिषयमा ब्रोसियर प्रकाशन गरिने छ । ब्रोसियर प्रकाशन पूर्व नगर पर्यटन विकास समितिले नगर क्षेत्रका ११ वटै वडा कार्यालयमार्फत सम्वन्धित वडामा रहेका पर्यटकिय सम्भावनाका क्षेत्र तथा स्रोतहरुका बारेमा जानकारी लिने गुरुङले बताउनुभयो । पर्यटन परिचय पुस्तकमा पर्यटकीय स्थल देखि ऐतिहासिक धार्मिक,सांस्कृतिक स्थल र क्षेत्रका बारेमा बिस्तृत जानकारी सहितको विवरण उल्लेख गरिने छ । पुस्तक ऐतिहाँसिक दस्तावेज हुने भएकोले यसमा नगर क्षेत्रका सबै पर्यटकीय केन्द्रहरुका विवरण संग्रह गरिने समेत गुरुङले बताउनुभयो । ऐतिहाँसिक विवरण समेत संकलन गरी पुस्तकलाई अन्तिम रुप दिने गृहकार्यका लागि नगर पर्यटन विकास समितिले मात्रिकाप्रसाद नेपाल र प्रविण पालुङ्वालाई जिम्मेवारी दिने निर्णय भएको नगर पर्यटन विकास समितिले जनाएको छ ।
नगरपालिकाले पर्यटक आगमनका मुख्य नाकाहरुमा पर्यटन सूचना बोर्ड राख्ने भएको छ । नगर क्षेत्रका मुख्य पर्यटकीय स्थलहरुलाई टाढैबाट देख्न र बुझ्न सकिने गरी ११ वटा बोर्ड बनाउने तयारी गरिएको नगर पर्यटन विकास समितिका अध्यक्ष गुरुङले बताउनुभयो । सरोकारवालासंगको छलफल तथा सुझाव संकलनका क्रममा नगर पर्यटन विकास समितिका अध्यक्ष गुरुङले फुङलिङ नगरपालिकाको पर्यटन विकास,सम्भावना र चुनौति बिषयमा कार्यपत्र समेत प्रस्तुत गर्नु भएको छ । नगर पर्यटन विकास समितिले पर्यटन प्रर्वद्धनको नारा‘फूलै फूलको बगैंचा,फुङलिङ नगरपालिका तय गरेको छ । फुङलिङ नगरपालिकाको नामाकरण लिम्बू भाषाको ‘फूङ’ अर्थात ‘फूल’ र ‘लिङ’ अर्थात ‘उम्रेको’बाट भएको मानिन्छ । यसर्थ फूल उम्रेको ठाउँ भएकाले यस ठाउँको नाम फुङलिङ रहन गएको विभिन्न दस्तावेजहरुमा देखिन्छन् ।
कार्यक्रममा फुङलिङ नगरप्रमुख अमिर मादेनले फुङलिङ सहित समग्र ताप्लेजुङको विकासका लागि पाथीभरा क्षेत्रमा केवलकार निर्माण अनिवार्य रहेकोमा जोड दिनुभयो । अर्थतन्त्र चलायमान,विकास,रोजगारी र समृद्धिका लागि केवलकार निर्माण गर्नैपर्ने उहाँको जोड थियो । मादेनले केवलकार निर्माणका लागि आफु फुङलिङ नगरको अभिभावक भएर अग्रसर बनेको बताउँदै केवलकार निर्माणमा सबै पक्षले सहयोग गर्नुपर्ने बताउनुभयो । ताप्लेजुङमा जन्मिनु भएका तर उपत्यका सहित देश बिदेशमा रहेका बौद्धिक व्यक्तित्वले ताप्लेजुङका पर्यटकीय स्थलको प्रचारप्रसार र विकास निर्माणका कार्यमा अपेक्षाकृत पैरवी वकालत गर्न नसकेको उहाँको गुनासो थियो ।
नगरप्रमुख मादेनले निकट भविष्यमै नगर पर्यटन विकास समितिमार्फत यहाँका प्रमुख पर्यटकीय स्थलहरुको डिजिटेल ब्रोसियर समेत अंग्रेजी,नेपाली र स्थानीय भातृ भाषामा प्रकाशनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । क्युआरकोडमार्फत उक्त डिजिटेल ब्रोसियर अध्ययन गर्न सकिने व्यवस्था मिलाउने नगरपालिकाको तयारी रहेको उनले सुनाए । २०८१ साल भदौ २५ गते बसेको फुङलिङ नगरपालिकाको ४६ औं कार्यपालिका बैठकले नगर पर्यटन विकास समिति गठन गर्ने निर्णय गरेको थियो ।