‘एक घर,एक फलफूल बगैंचा’कार्यक्रम सञ्चालन गर्दै मैवाखोला
खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २९ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एक घर,एक फलफूल बगैंचा’कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
ढुवानी खर्च बाहेक लाभग्राहीले अरु लागत साझेदारी गर्न नपर्नेगरी कार्यक्रम अघि बढाउन लागिएको मैवाखोला गाउँपालिकाका कृषि विकास शाखा प्रमुख सुरेन्द्र राईले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी हुन चाहने लाभग्राहीहरुले जेठ ११ गतेसम्ममा पालिकामा तोकिएको सर्त र प्रकृया पूरा गरी आबेदन दिनुपर्ने पालिकाले जनाएको छ । पालिकाले एभोकाँडो,सुन्तलाको बिजु बिरुवा र सुन्तलाको कलमी विरुवा बितरण गर्ने जनाएको छ । एभोकाँडोको बिरुवा न्यूनतम् २४ वटाका दरले बितरण गरिने छ भने यसका लागि कम्तिमा तीनरोपनी जग्गा अनिवार्य हुनुपर्ने पालिकाले बताएको छ । सुन्तलाको बिजु बिरुवा र सुन्तलाको कलमी विरुवा कम्तिमा ६० वटाका दरले दिइने भएको छ भने कम्तिमा तीनरोपनी जग्गा अनिवार्य हुनुपर्ने छ । पालिकाले ढुवानीमा लाभग्राहीको सतप्रतिशत लागत साझेदारी अनिवार्य गरेको छ ।
कार्यक्रममा सहभागी हुन चाहने लाभग्राहीले जग्गाधनी पूर्जाको छायाँप्रति,व्यक्ति स्वयंको जग्गा धनीपूर्जा नभएमा एकाघरको भए मञ्जुरीनामा,अंशियारको जग्गाको धनीपूर्जाको छायाँप्रति र लिजमा भए कम्तिमा १० बर्षको सम्झौतापत्र र जग्गाधनी पूर्जाको छायाँप्रति पेश गर्नुपर्ने हुन्छ । पालिकाले फलफूल बिरुवा रोपण गर्ने खाल्टो,मलखादको व्यवस्थापन र जग्गा तयारीको फोटो,मैवाखोला गाउँपालिकाको फलफूल तथा तरकारीबालीको स्थलगत रुपमा सम्भाव्यता अध्ययन प्रतिबेदनको आधारमा तोकिएको हावापानी र सिफारिस गरिएका कृषक र कृषि फर्मलाई प्राथमिकता दिने बताएको छ ।
पालिकाले खेति प्रणालीमा सुधार ल्याउन रसायनिक मलको सट्टा प्राङ्गारिक(जैविक)मललाई प्रोत्साहन गरिरहेको छ । जैविक मललाई प्रोत्साहन गर्न पालिकामै मल उद्योग स्थापनाको प्रकृया समेत अघि बढाएको छ । पालिका अध्यक्ष विजयप्रकाश वनेमले तितेपाती,कालीझार सहितका प्रजातिलाई प्रशोधन गरी रसायनिक मल बिस्थापन र जैविक मलको प्रयोग बढाउन पालिकामै मल उद्योग स्थापनाको प्रकृया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । पालिकाले माटो र हावापानी सुहाउँदो खेति प्रणालीको विकास गर्न माटो परीक्षण गरी किसानको परीक्षण परीक्षण प्रतिबेदन समेत दिईसकेको छ भने फलफूल तथा तरकारीबालीको स्थलगत रुपमा सम्भाव्यता अध्ययन समेत गरेको छ । अर्गानिक कृषि प्रणाली अवलम्बन गर्न खोजी रहेको मैवाखोलाले रैथाने कृषि बाली उत्पादन र उपभोगलाई प्रोत्साहन गर्न संघीय राजधानी काठमाडौंमा स्थानीय उत्पादन पु¥याउने गरी प्रर्दशनी तथा बिक्री केन्द्र समेत सञ्चालनमा ल्याएको छ ।