एसईईमा सतप्रतिशत अंक ल्याउने बिद्यालय,उत्कृष्ट अंक ल्याउने बिद्यार्थी र सेवानिवृत्त शिक्षक सम्मानित

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २७ । जिल्ला विकास तथा समन्वय इकाई ताप्लेजुङले शैक्षित्र सत्र २०८२ मा सेवा निवृत्त शिक्षक तथा २०८१ सालको शैक्षिक सत्रमा उत्कृष्ट अंक ल्याउने बिद्यार्थी र सतप्रतिशत नतिजा ल्याउने बिद्यालयका प्रधानाध्यापकलाई सम्मान गरेको छ ।

शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुुसार शैक्षिक सत्र २०८२ सालमा सेवा निवृत्त हुने ३२ जना शिक्षकलाई सम्मान गरिएको हो । शैक्षिक सत्र २०८२ मा अनिवार्य अवकास र स्वेच्छिक अवकास लिएका शिक्षकलाई सम्मान गरिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । शैक्षिक सत्र २०८२ मा अनिवार्य अवकास र स्वेच्छिक अवकासमा जानेमा माध्यमिक तह प्रथम श्रेणीका १ जना,द्धितीय श्रेणीका ३ जना,तृतीय श्रेणीका १ जना र माध्यमिक राहत १ जना रहेका छन् । यस्तै निम्न माध्यमिक प्रथम श्रेणीका १ जना,प्राथमिक तह प्रथम श्रेणीका ३ जना,प्राथमिक द्धितीय श्रेणीका १४ जना र प्राथमिक तह तृतीय श्रेणीका ८ जना रहनु भएको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ ।

माध्यमिक शिक्षा परीक्षा २०८१ मा सतप्रतिशत नतिजा निकाल्ने बिद्यालयका प्रधानाध्यापकलाई समेत सम्मानित गरिएको छ । सम्मानित हुनेमा फुङलिङस्थित साङ्क देछ्योलिङ गोन्पा बिद्यालयका प्रधानाध्यापक पासाङरिता शेर्पा,फक्ताङलुङ गाउँपालिकास्थित सिँवा माविका प्रअ निर्मला तामाङ,सरस्वती मावि तापेथोकका प्रधानाध्यापक चन्द्रमणि सुब्बा लिम्बू र खेजेनिम माविका प्रअ बिष्णुकुमार लिम्बू रहनु भएको छ । सतप्रतिशत नतिजा निकाल्ने आठराई त्रिबेणी गाउँपालिकास्थित गुप्तेश्वर मावि फुलवारीका प्रअ चन्द्रप्रसाद अधिकारी,मिक्वाखोला गाउँपालिकास्थित मोति मावि खोक्लिङका प्रअ केबुहाङ लिम्बू र पाथीभरा याङवरक गाउँपालिकास्थित कालिका मावि तिरिङ्गेका प्रअ देवीबहादुर गौतमलाई सम्मान गरिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

जिल्ला भरका बिद्यालयतर्फ २०८१ सालको एसईई परीक्षा २०८१ मा छात्रतर्फ सर्बोत्कृष्ट अंक(३.९१ जिपिए)ल्याउने साङ्क देछ्योलिङ गोन्पा बिद्यालयका लार्के शेर्पा र छात्रातर्फ सर्बोत्कृष्ट अंक (३.७८ जिपिए)ल्याउने कञ्चनजंघा आवासीय माविका रमियुका दुमी राईलाई जनही नगद ४ हजार रुपैयाँ सहित पुरस्कृत गरिएको छ । धार्मिक प्रकृतिका बिद्यालयतर्फ छात्रामा जिल्ला प्रथम हुने साङ्क देछ्योलिङ गोन्पा बिद्यालयका पेम्बाछिकी शेर्पा(३.७४ जिपिए),संस्थागत बिद्यालयतर्फ छात्रमा जिल्ला प्रथम हुने कञ्चनजंघा आवासीय माविका अर्पण भट्टराई(३.५८ जिपिए)तथा सामुदायिक बिद्यालयतर्फ छात्रामा प्रथम हुने भानुजन माविका पर्वत भट्टराई(३.७७ जिपिए) र छात्रातर्फ सोहि बिद्यालयका श्रुति लिम्बू(३.७० जिपिए)लाई जनही नगद ३ हजार रुपैयाँ सहित पुरस्कृत गरिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले परीक्षा केन्द्रित तयारीलाई ध्यान दिएर बिद्यालयको शैक्षिक गुणस्तर सुधार्न शिक्षाका सरोकारवाला एकजुट हुनुपर्नेमा जोड दिनुभयो । सेढाइँले स्रोत र साधनको सिमितताकाबिच पनि शैक्षिक वातावरण निर्माण गरी शैक्षिक अवस्था सुधार्न बिद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ,बिद्यालय प्रशासन,शिक्षक,अभिभावक र बिद्यार्थीको सामजस्य सम्वन्ध स्थापित हुनुपर्ने समेत बताउनुभयो । कार्यक्रममा सम्मानित प्रधानाध्यापकहरुकातर्फबाट गुप्तेश्वर मावि फुलवारीका प्रअ चन्द्रप्रसाद अधिकारीले शिक्षक र बिद्यार्थीले कर्तव्य र जिम्मेवारी पूरा गरे नतिजा सुधारको आधार तयार हुने बताउनुभयो ।

सेवा निवृत्त शिक्षककोतर्फबाट बोल्दै सारदा मावि थुम्बेदिनका शिवप्रसाद न्यौपानेले एक शिक्षकले आफुले पढाउने मात्र जिम्मेवारी नभई बिद्यार्थीलाई जान्ने बनाउनेसम्मको कर्तव्य पूरा गर्न सक्नुपर्नेमा जोड दिनुभयो । साङ्क देछ्योलिङ गोन्पा बिद्यालयका प्रअ पासाङरिता शेर्पाले राज्यले भाषा तथा धार्मिक प्रकृतिका बिद्यालयप्रतिको दृष्टीकोणमा सुधार ल्याउनुपर्ने बताउनुभयो । शिक्षक कर्मचारीको तलवका लागि बार्षिक ६८ लाख रुपैयाा खर्च हुने गरेको बताउँदै शेर्पाले सरकारले अहिले बार्षिक १८ लाख रुपैयाँ मात्र दिँदै आएको र बाँकी चन्दा संकलन गरी व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । याङ्लीजुङ आधारभूत बिद्यालयबाट अवकासप्राप्त शिक्षक कमल बस्नेतले आधुनिक युगमा प्रविधिमैत्री र व्यवहारिक शिक्षा अनिवार्य र अपरिहार्य रहनेमा जोड दिनुभयो ।

Similar Posts