प्रहरीद्वारा अवैध काठसहित सातवटा ट्रक नियन्त्रण
-उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक २५ । ताप्लेजुङमा अवैध काठसहित सात ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार जिल्लाको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुबाट अवैध काठसहित उक्त ट्रकहरु नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोहितकुमार शर्मा बढइँका अनुसार अवैधरुपमा काठ (गोलिया) निकासी भइरहेको भन्न गोप्य सूचनाका आधारमा सवारी साधन चेकजाँच गर्ने क्रममा उक्त ट्रकहरु पक्राउ गरिएको हो । साब्लाखुको जिरोपोइन्ट भन्ने स्थानबाट काठ लोड गरिएको ट्रकहरु चालकसहित नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बढइँले जानकारी दिनुभयो ।
उहाँकाअनुसार प्रहरी चौकी साब्लाखुबाट प्रहरी सहायक निरीक्षक (असई) प्रदिपकुमार बिष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले गोलिया काठ बोकेको उक्त ट्रकहरु नियन्त्रणमा लिएको हो । प्रहरीले अवैध काठ बोकेको को १ ख ३७५७ नम्बरको ट्रक र चालक सन्दिप लिम्बूलाई नियन्त्रणमा लिएको हो । त्यस्तै प्र १–०१–००१ ख ४४९३ नम्बरको ट्रक र चालक मनोज श्रेष्ठ, प्र १–०१–००१ ख ३९०९ नम्बरको ट्रक र चालक दावाछिरिङ तामाङलाई प्रहरीले नियन्त्रण लिएको छ ।
त्यसैगरी मे १ ख ३३०५ नम्बरको ट्रक र चालक पूर्णबहादुर घिमिरे, ना ३ ख ५७०५ नम्बरको ट्रक र चालक सनम शेर्पा, ना ३ ख २३५१ नम्बरको ट्रक र चालक बिलनारायण श्रेष्ठ तथा प्र ०३–००२ ख ४१३० नम्बरको ट्रक र चालक युवराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त ट्रकहरु (सवारी साधन) चेकजाँच गर्दा रुख कटान आदेशपत्र, निकासी वा छोडपत्र लगायतका अन्य आवश्यक कागजात नभएको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
यता प्रहरीले नियन्त्रणमा लिएको गोलिया काठ, ट्रक र चालकउपर सात दिनको म्याद लिएर डिभिजन वन कार्यालय ताप्लेजुङले अनुसन्धान सुरु गरेको पनि जिल्ला प्रहरी कार्यालयले. जनाएको छ । नियन्त्रणमा लिइएको काठको परिमाण भने खुलिनसकेको प्रहरी निरीक्षक बढइँले जानकारी दिनुभयो ।
साब्लाखु हुँदै पाँचथरको याङ्वरक गाउँपालिकाको थर्पुतर्फ अवैधरुपमा निकासी गर्दै गरिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको काठ भने उत्तिस प्रजातिको रहेको छ । प्रहरीले नियन्त्रणमा लिएको काठसहितको ट्रकहरु पाथीभरा सव–डिभिजन वन कार्यालय परिसरमा राखिएका छन् ।