सिरिजङ्गाको आर्थिक विधेयक: जमिन बाँझो राख्नेदेखि जथाभावी पशु चौपाया छाड्ने सम्मलाई अब दण्ड र जरीवाना !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २६ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले खेतियोग्य जमिन बाँझो राख्नेदेखि जथाभावी पशु चौपाया छाड्ने व्यक्ति सम्मलाई कानुनी दाहेरामा ल्याउन विधयेक ल्याएको छ ।

पालिकाले जारी गरेको आर्थिक विधयेक २०८१ को अनुसूची–११ मा दण्ड,सजाय र जरीवानाको व्यवस्था छ । जस अनुसार खेतियोग्य जमिन बाँझो राखेमा तोकिएको मालपोत करको थप एकसय प्रतिशत जरीवाना लिइने छ । विधयेकमा खेतियोग्य जमिन हो की होईन भनेर ठहर गर्ने जिम्मेवारी सम्वन्धित वडाध्यक्षलाई दिईएको छ । खेतियोग्य जमिन बाँझो राख्नेबाट प्राप्त भएको जरीवानाको २५ प्रतिशत रकम सम्वन्धित टोल विकास संस्थालाई पुरस्कार स्वरुप प्रदान गरिने छ ।

विधयेक अनुसार जथाभावी पशु चौपाया छाड्ने व्यक्तिलाई प्रति पशु एकसय रुपैयाँ जरीवाना लिने छ । उक्त कार्यको अनुगमनको जिम्मेवारी सम्वन्धित टोल विकास संस्थालाई दिईएको छ । यस्तै अर्कालाई अप्ठ्यारो पार्ने नियतले रुख पर्खाल लगाउने र घर टहरा बनाउने पनि कारवाहीको दाहेरामा आउनेछन् । यस्तो कार्य गर्नेलाई पालिकाले १ हजार रुपैयाँ जरीवाना लिने छ भने अवरोध हटाउँदा लाग्ने खर्च अवरोधकर्ताबाट असुल गरिने भएको छ । गाउँपालिकामा दर्ता नभई व्यपार व्यवसाय सञ्चालन गर्नेलाई जनही १ हजार रुपैयाँ जरीवाना लिइने भएको छ ।

अनुमति बेगर गाउँपालिका भित्रको नदीजन्य सामग्री(ढुङ्गा,गिटी र बालुवा) उत्खनन् गर्नेलाई पहिलो पटकका लागि १५ हजार रुपैयाँ जरीवाना गरिने छ भने दोस्रोपटक देखि पनि उक्त कार्य भए गरेमा पटकैपिच्छे दोब्बर जरीवाना लिइने तथा त्यसमा प्रयोग भएका सामग्री जफत गरिने भएको छ । विधयेक अनुसार पसलहरुमा सार्वजनिक स्थलमा मूल्य सूची नराख्नेलाई जनही १ हजार रुपैयाँ जरीवाना लाग्ने छ । म्याद गुज्रिएका सामग्री बिक्री बितरण गर्ने सबै प्रकारका व्यवसायीलाई पहिलोपटकका लागि ३ हजार रुपैयाँ जरीवाना लिएर सचेत गराइने भएको छ । उक्त कार्य दोहोरिएमा प्रचलित कानुन बमोजिमको कारवाहीका लागि सम्वन्धित निकायमा लेखी पठाउने विधयेकमा उल्लेख गरिएको छ ।

गाउँपालिका क्षेत्रभित्रका नदी,खोला खोल्सी आदिमा पाइने दुर्लभ असला र तिते लगाययका माछा मार्न रसायनिक बिषादी वा,करेन्ट वा महाजाल प्रयोग गर्ने व्यक्ति तथा समूहलाई प्रचलित संघीय तथा प्रादेशिक कानुनमा उल्लेखित बाहेक गाउँपालिकाले थप १० हजार रुपैयाँ जरीवाना लिने भएको छ । स्वास्थ्य सम्वन्धी मापदण्ड पालना नगरी ल्याव,क्लिनिक,औषधि पसल तथा पशु चौपायाको औषधि पसललाई पहिलोपटकका लागि ५ हजार रुपैयाँ जरीवाना गरी सचेत गराउने र दोस्रोपटक देखि पनि उक्त कार्य दोहोरिएको पाइए थप कानुनी कारवाहीका लागि सम्वन्धित निकायमा लेखी पठाइने छ ।

म्याद गुज्रिएको औषधि बिक्री बितरण गरेमा पहिलो अनुगमनमा १ हजार जरीवाना तथा हुने तथा उक्त कार्य दोहोरिएमा इजाजत खारेजी सहितका प्रकृयाका लागि आवश्यक कानुनी कारवाही अघि बढाईने भएको छ । निशेधित स्थानमा फोहोर विर्सजन गर्नेलाई पहिलो पटकका लागि ५ सय र त्यसपछि पटकैपिच्छे जनही १ हजार रुपैयाँका दरले जरीवाना असुल गरिने भएको छ । पालिकाको निर्णय बमोजिम कार्यान्वयनमा गएका विकास निर्माणका काममा बाधा तथा अवरोध गर्नेलाई पहिलोपटकका लागि १ हजार र त्यसपछि पटकैपिच्छे १ हजार ५ सय रुपैयाँका दरले जरीवाना लिई आवश्यक कानुनी कारवाहीका लागि मार्ग प्रसस्त गरिने भएको छ ।

 

Similar Posts