घुम्ती शिविरमार्फत पाँच दिनमा चार हजार बढीले लिए सेवा
-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख २५ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सञ्चालन गर्दै आएको घुम्ती शिविरमार्फत पाँच दिनमा चार हजार बढीले सेवा लिएका छन् । गएको सोमबारदेखि सुरु भएको घुम्ती शिविरमार्फत शुक्रबार सम्ममा चार हजार बढी सेवाग्राहीले सेवा लिएका हुन् ।
प्रत्येक वडामा सञ्चालन हुँदै आएको एकीकृत घुम्ती शिविरको पाँचौ दिन शुक्रबार वडा नम्बर ४ साँघुमा शिविर सम्पन्न भएको छ । शुक्रबारसम्म अर्थात शिविर सञ्चालन हुन थालेको पाँच दिन सम्ममा कुल चार हजार १९८ जना सेवाग्राहीले सेवा लिएका छन् । शिविरमार्फत साँघुमा ८२३ जनाले सेवा प्राप्त गरेका गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत गोम्देनका अनुसार बिहीबार वडा नम्बर ५ फाकुम्बामा घुम्ती शिविर आयोजना गरिएको थियो । सो वडामा ८३० जनाले सेवा लिएका थिए । त्यस्तै शिविरको तेस्रो दिन वडा नम्बर ६ मा आयोजित शिविरमा ८२४ जनाले सेवा प्राप्त गरेका प्रमुख प्रशासकीय अधिकृत गोम्देनले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिविरको पहिलो दिन सोमबार वडा नम्बर १ मा ८८३ जना र दोस्रो दिन मंगलबार वडा नम्बर २ ढुंगेसाँघुमा ८३८ जना सेवाग्राहीले सेवा लिएका थिए । गाउँपालिका कार्यालयअन्तर्गत प्रशासन, कृषि विकास, स्वास्थ्यलगायत विभिन्न १३ शाखाबाट प्रदान हुने सेवाहरु शिविरमार्फत प्रवाह गरिँदै आएको गाउँपालिकाले जनाएको छ ।
पालिकावासी जनता अर्थात सेवाग्राहीलाई घरआँगनमै पुगेर सेवा प्रदान गर्ने उद्देश्यले एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । अध्यक्ष वनेमका अनुसार घुम्ती शिविरसँगै नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको सहजीकरणमा सार्वजनिक सुनुवाइ कार्यक्रमसमेत सञ्चालन गरिँदै आएको छ ।