भव्य उपस्थितिमा आठराई त्रिबेणीमा सुरुभयो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड
खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २५ । १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शुक्रवारबाट वडा नं १ निघुरादिनमा बिद्यालय स्तरीय प्रतियोगिता सुरु गरेको छ ।
प्रतियोगिताको जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले उद्घाटन गरेका छन् । आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)को अध्यक्षता भएको उद्घाटन कार्यक्रममा फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा,प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँ,पालिका उपाध्यक्ष शान्ताकुमारी आङवुहाङ राई,दुर्गादल गुल्मका गुल्मपति उमेश खड्का,जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतम,प्रमुख अनुसन्धान अधिकृत श्रीभजन राय,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार मावो लिम्बू(गणेश),शिक्षा विकास तथा समन्पय ईकाई प्रमुख योगेश्वर भट्टराईसहितको उपस्थिति रहेको छ ।
बिद्यालय स्तरीय प्रतियोगिताबाट छानिएका खेलाडी माघ २३ देखि २६ गतेसम्म सिदिङ्वा गाउँपालिकाको साब्लाखुमा आयोजना हुने अन्तरपालिका स्तरीय प्रतियोगितामा सहभागी हुने आठराई त्रिबेणी गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नं २ फुलवारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङले जानकारी दिनुभयो । यसबर्ष सिदिङ्वामा कुल २ सय २ पदकका लागि ९ पालिकाबाट छानिएका बिद्यार्थीले प्रतिश्पर्धा गर्नेछन् । ६६ स्वर्ण,६६ रजत र ७० कास्य पदकका लागि प्रतिश्पर्धा हुन लागेको हो ।
ताप्लेजुङका ९ मध्ये सिदिङ्वा र मैवाखोला गाउँपालिका तथा फुङलिङ नगरपालिकाले अन्तर बिद्यालय स्तरीय प्रतियोगिता सकिसकेका छन् । जिल्ला खेलकुद विकास समितिले १३ औं अन्तरपालिका स्तरीय प्रतियोगिताबाट सदरमुकाम बाहिर कार्यक्रम आयोजना गर्दै आइरहेको छ । १३ औं अन्तरपालिका स्तरीय प्रतियोगिता सिरिजङ्गाको तेल्लोकमा,१४ औं आठराई त्रिबेणीको वडा नं २ फुलवारीमा,१५ औं मैवाखोलाको नारायणी मावि साँघुमा सम्पन्न भएको थियो भने १६ औं सिदिङ्वाको साब्लाखुमा माघ २३ बाट हुने जिल्ला खेलकुद समितिले यसअघि नै पत्रकारसम्मेलनमार्फत जानकारी दिईसकेको छ ।