शुभलाभ बचत तथा ऋण सहकारी संस्थाको साधारणसभामा उत्कृष्ट बचतकर्ता देखि असल ऋणीसम्म सम्मानित
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २५ । उत्कृष्ट बचतकर्ता,बाल बचतकर्ता,असल ऋणी र जेष्ठ बचतकर्तालाई सम्मान गर्दै ताप्लेजुङस्थित शुभलाभ बचत तथा ऋण सहकारी संस्थाले शुक्रवार १८ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
संस्थाले आर्थिक बर्ष २०८१।८२ मा १० लाख ५५ हजार ९ सय ४४ रुपैयाँ २० पैसा सञ्चालन बचत गरेको समेत जनाएको छ । साधारणसभाले संस्थाका सचिव दिनेश खवासद्धारा प्रस्तुत बार्षिक प्रगति प्रतिबेदन,कोषाध्यक्ष रेवतबहादुर श्रेष्ठद्धारा प्रस्तुत आर्थिक प्रतिबेदन र लेखा तथा सुपरीवेक्षण समिति संयोजक भुवन श्रेष्ठद्धारा प्रस्तुत प्रतिबेदनलाई पारित गरेको छ । साधारणसभाले संस्थाको आवश्यक नीति नियम बनाउन र भएको नीति नियम संशोधन गरी आगामी साधारणसभाबाट अनुमोदन गराउने गरी सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन समेत गरेको छ । चालु आर्थिक बर्षका लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक आगामी साधारणसभामा अनुमोदन हुनेगरी कार्य सम्पादन गर्न सञ्चालक समितिलाई अनुमति दिएको छ । ४ सय ५४ जना शेयर सदस्य रहेको संस्थाले खराव कर्जा नियन्त्रणका लागि असुलीलाई प्रभावकारी बनाउने योजना लिएको छ । २९ लाख ५० हजार ९ सय ६० रुपैयाँ खराब कर्जा रहेकोमा सञ्चालक समिति तथा कर्मचारीको प्रयासबाट २३ लाख ९२ हजार ४ सय ५५ रुपैयाँमा झारेको जनाएको छ ।
संस्थाले लगानी तथा आवद्धतामा ३४ लाख ७१ हजार ५२ रुपैयाँ ३७ पैसा बचत भएको जनाएको छ । साधारणसभाको अवसरमा संस्थाले जेष्ठ सदस्यतर्फ बिष्णुमाया श्रेष्ठ र कृष्णकुमार शाक्य,उत्कृष्ट बचतकर्तातर्फ सीतादेवी श्रेष्ठ,उत्कृष्ट बाल बचतकर्तातर्फ आयुष्मा महतारा र ह्रदम श्रेष्ठ र असल ऋणीतर्फ कुमार श्रेष्ठ,दिलकुमारी लिम्बू प्रधान,सम्झना लामा श्रेष्ठ र केशव राजभण्डारीलाई पुरस्कृत एवम् सम्मानित गरेको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि फुङलिङ नगरपालिका वडा नं ५ का वडाध्यक्ष सोजित श्रेष्ठले सहकारीले देशको अर्थतन्त्र र शेयर सदस्यको आर्थिक तथा जीवनस्तर सुधारमा उल्लेख्य भूमिमका निर्वाह गर्ने विश्वास लिनुभयो ।
साधारणसभामा बोल्दै पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले शेयर सदस्यको हित,वित्तीय पहुँचमा सहजता र बचत तथा ऋण लगानीका क्रममा शुभलाभ बचत तथा ऋण सहकारी संस्थाले दिएको योगदान अतुलनीय रहेको बताउनुभयो । सहकारी संस्थाका अध्यक्ष गणेशकुमार श्रेष्ठले सहकारी संस्थाले शेयर सदस्यहरुले चाहेको बेला बचत फिर्ता र योजना अनुसारको ऋण लगानीमा उदार मनका साथ कार्य सम्पादन गर्दै आएको जानकारी दिनुभयो । सहकारी संस्थाका सदस्य अरुण श्रेष्ठले संस्थाको उद्देश्य र शेयर सदस्यहरुको भावना तथा आवश्यकताको परिपूर्तिमा संस्थाले कुनै कसर बाँकी नराखेको बताउनुभयो ।