सिँवामा माघ १ बाट आमन्त्रित प्रथम माघेनी मेला गोल्डकप हुँदै,बिजेताले साढे तीनलाख पुरस्कार पाउने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २६ । ऐतिहाँसिक माघे मेलाको अवसरमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिम सिँवामा हुने आमन्त्रित प्रथम माघेनी मेला गोल्डकप २०८२ को खेल तालिका सार्वजनिक भएको छ ।
माघे मेला सञ्चालन समिति र सिँवा स्पोर्टिङ क्लवले शनिवार पत्रकार सम्मेलनमार्फत गोल्डकपको खेल तालिका सार्वजनिक गरेका हुन् । माघे मेला वृहत्त साँस्कृतिक कार्यक्रम सञ्चालन समितिका संयोजक फुङनाम(रेशम)लिम्बूका अनुसार गोल्डकपमा ८ टिम सहभागी हुनेछन् । उद्घाटन खेलमा आयोजकको प्रतिनिधित्व गर्ने सिँवा स्पोर्टिङ क्लवले मैवाखोला ढुङ्गेसाँघुको जनसेवा आर्दश स्पोर्टिङ क्लवसंग खेल्ने छ । दोस्रो खेलमा माघ २ गते ड्रिम व्योइज फुटबल क्लव धनकुटाको भिडन्त तेह्रथुमको खाम्लालुङ ग्रामीण युवा समाजको टिमसंग हुने छ । तेस्रो खेलमा माघ २ गते नै नाम्थोक युवा क्लव पाँचथर र बिसिएस मेमोरियल युवा क्लव सावादिन,ताप्लेजुङ भिड्नेछन् । पहिलो चरणको अन्तिम खेलमा माघ ३ गते ताप्लेजुङको सिदिङ्वास्थित लालीगुराँस स्पोर्टिङ युवा क्लव र झापाको कन्काई स्पोर्टिङ क्लव भिड्नेछन् । माघ ४ गते दुईवटा सेमीफाइनल खेल हुनेछन् भने ५ गते फाइनल खेल हुने सिँवा स्पोर्टिङ क्लवका संरक्षक मचिन्द्र लिम्बूले जानकारी दिनुभयो ।
माघे मेला सञ्चालन समितिका अध्यक्ष तेजवीर लिम्बूका अनुसार प्रतियोगिताका बिजेताले नगद ३ लाख ५० हजार ८२ रुपैयाँ र उपबिजेताले १ लाख ७५ हजार ८२ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याच हुनेलाई नगद २ हजार रुपैयाँका साथ प्रमाणपत्र दिइने छ । सर्बोत्कृष्ट खेलाडीले नगद ५ हजार रुपैयाँका साथ ट्रफी र प्रमाणपत्र पाउँदा अन्य बिधागततर्फ उत्कृष्ट हुनेलाई जनही नगद २ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र दिइने भएको छ । माघ ४ गते वृहत्त साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको क्लवका संरक्षक दुर्गा लिम्बूले जानकारी दिनुभयो । ताराप्रकाश लिम्बू,दीपा सुहाङ,बादल लिम्बू सहितका कलाकारले साँस्कृतिक कार्यक्रमा आफ्नो प्रस्तुति दिनुहुने छ ।
माघे मेला सञ्चालन समितिका अध्यक्ष लिम्बूका अनुसार प्रतियोगिता सहितका सबै कार्यक्रम सम्पन्न गर्न करिव २५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । फक्ताङलुङ गाउँपालिका,पालिकाको वडा नं ३ सहितका पालिकाका वडाहरु,दाता संस्था तथा व्यक्तिहरुको सहयोगमा आय स्रोत संकलन हुने आयोजकको अनुमान रहेको छ । आयोजक माघे मेला सञ्चालन समितिले स्थानीय ९० बर्षिय भीमप्रसाद बराललाई उधृत गर्दै बताए अनुसार माघे मेला कहिलेबाट सुरु भयो भन्ने एकिन नभएपनि मेला राणा शासन कालदेखि नै स्थानीय सुब्बाहरुले माघेनी मेला (कक्फेक्वा पाङजुम) लगाउँदै आएका हुन् । द्धन्दकालको समयमा केहि समय स्थगित भएको मेला स्थानीयको अगुवाईमा फेरि सुरु गरिएको माघे मेला सञ्चालन समितिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।