अस्थायी मतदाता नामावली संकलन सम्वन्धीको प्रकृया सुरु,फागुन ५ गते अन्तिम नामावली प्रकाशन हुने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस १६ । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले अस्थायी मतदाता(समानुपातिकतर्फ मात्र मत लगाउन पाउने)नामावली संकलनको प्रकृया सुरु गरेको छ ।

जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठका अनुसार पुस १८ गतेसम्ममा नेपाल सरकार,प्रदेश सरकार स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत,ब्यारेकमा रहेका नेपाली सेना,नेपाल प्रहरी वा सशस्त्र प्रहरी,कारागारमा रहेका थुनुवा र कैदी,तीन तहमध्ये कुनै एकको स्वीकृति लिई सञ्चालनमा रहेका बृदाश्रममा रहेका व्यक्तिहरु र संबैधानिक निकायका प्रमुख तथा पदाधिकारीको नाम अस्थायी मतदाता नामावलीमा समावेश गर्न प्रकृया सुरु भएको हो । जिल्ला निर्वाचन कार्यालयले उल्लेखित निकायहरुमा रहेका व्यक्तिहरुको प्रमाणित नामावली पुस १८ गतेसम्ममा प्रमुख नाम दर्ता अधिकारी समक्ष पठाईसक्न सम्वन्धित निकायहरुमा पत्राचार गरिसक्ने छ । पुस १९ गते देखि माघ १८ गते भित्रमा अन्तिम मतदाता नामावलीमा नाम कायम भएका व्यक्तिहरुको सम्वन्धित निकायका प्रमुखले प्रमाणित गरी प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा पठाइसक्नुपर्ने व्यवस्था गरिएको छ । अस्थायी मतदाता नामावलीका लागि निर्वाचन आयोगले जिल्ला निर्वाचन अधिकारीलाई प्रमुख नाम दर्ता अधिकारी तोकेको छ ।

माघ २० गते निर्वाचन कार्यालयले नामावलीमा रहेको विवरणको त्रुटी सच्याउने कार्यका लागि अस्थायी मतदाताको प्रारम्भिक नामावली प्रकाशन गर्ने छ । माघ २० देखि २४ गतेसम्ममा अस्थायी मतदाता नामावलीमा नाम छुट भएका व्यक्तिले नाम समावेश गर्न तथा त्रुटी सच्याउन सम्वन्धित जिल्ला निर्वाचन कार्यालयमा निबेदन दिनुपर्ने हुन्छ । निर्वाचन कार्यालयले माघ २५ गते अस्थायी मतदाता नामावलीमा नाम समावेश गर्न प्राप्त निबेदन उपर जाँचबुझ गरी संशोधित अस्थायी मतदाता नामावली संकलन गर्ने छ । माघ २५ देखि २९ गतेसम्म प्रारम्भिक तथा संशोधित अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिको सम्वन्धमा दावी बिरोधका लागि निबेदन पेश गर्ने कार्यसूची रहेको छ । प्रमुख नाम दर्ता अधिकारीको कार्यालयले फागुन १ र २ गते भित्रमा दावी बिरोधको निबेदन उपर जाँचबुझ गरी निर्णय गर्ने छ । फागुन ३ र ४ गते भित्रमा प्रमुख नाम दर्ता अधिकारीको कार्यालयले प्रारम्भिक तथा संशोधित अस्थायी नामावली तयार गरी फागुन ५ गते अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Similar Posts