मैवाखोलाले अब साँघुपाटी बजार क्षेत्रको फोहोर तालिका बनाई संकलन तथा व्यवस्थापन गर्ने
उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर १४ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिकाको केन्द्र रहेको साँघुपाटी बजार क्षेत्रको फोहोर तालिका बनाई नियमित रुपमा संकलन तथा व्यवस्थापन गर्ने भएको छ ।
फोहोर व्यवस्थापन र स्थानीय सडकहरुको नियमित मर्मतसम्भारका लागि गाउँपालिकाले ट्रयाक्टर खरिद समेत गरेको छ । गाउँपालिकाले फोहोर संकलन तथा व्यवस्थापन गर्ने दिन बाहेक अरु समयमा पालिकाको ट्रयाक्टर स्थानीय सडकहरुको नियमित मर्मतसम्भारका लागि प्रयोग गर्ने गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो ।
फोहोर नियमित रुपमा संकलन तथा व्यवस्थापन गर्ने भएसंगै अब साँघुपाटी बजार क्षेत्रमा जतासुकै फोहोर फाल्न र जलाउन नपाइने नियम गाउँपालिकाले कडाईका साथ कार्यान्वयन गर्ने भएको छ । गाउँपालिकाले यसअघि साँघुपाटी बजार क्षेत्रका व्यवसायी तथा स्थानीयसंग बजार क्षेत्रको फोहोर व्यवस्थापन सहितका कार्यको सहजीकरणका लागि सहमति समेत गरिसकेको छ ।‘अब त्यो सहमति भन्दा बाहिर जान पाइने छैन’गाउँपालिका अध्यक्ष वनेमले भन्नुभयो ।