चालू बर्षभित्रै १ नं प्रदेशका स्वीकृत २२ स्थानमै बिओपी स्थापना भईसक्ने
ताप्लेजुङ,भदौ १९ । सशस्त्र प्रहरीले चालू आर्थिक बर्ष भित्रै १ नं प्रदेशका सीमावर्ती २२ स्थानमा बोर्डर अब्जर्भेसन पोष्ट(बिओपी)स्थापना गरिसक्ने भएको छ । बिओपी स्थापनाका क्रममा पूर्वी पहाडी जिल्ला प्रबेश गरेका शसस्त्र प्रहरी बल १ नं प्रदेश प्रमुख (डिआईजी )बंशीराज दाहालले १ नं प्रदेशमा स्वीकृत सबै स्थानमा चालू आवभित्रै बिओपी स्थापना भईसक्ने बताउनुभयो ।‘हामी चालू आर्थिक बर्षभित्रै प्रदेशभरीमा स्वीकृत केन्द्रहरुमा बिओपी स्थापना गरिसक्ने छौं’ताप्लेजुङ आई पुग्नु भएका दाहालले उज्यालो पोष्टसंग भन्नुभयो । सशस्त्र प्रहरीको १ नं बाहिनी सुनसरीको पकलीमा रहेको छ । १ नं प्रदेशका १४ जिल्लामा रहेका सशस्त्र प्रहरीका सबै कार्यालय सोहि बाहिनी मातहत रहने छन् । ताप्लेजुङको उत्तरी सीमावर्ती क्षेत्र फक्ताङ्लुङ गाउँपालिकाको वडा नं ७ मौवाटारमा स्थापना हुने बिओपीका सन्दर्भमा डिआईजी दाहालले स्थानीय सरोकारवालासंग परामर्श समेत गर्नु भएको छ । दाहालका अनुसार मौवाटारमा असोज महिना भित्र बिओपी स्थापना भईसक्ने छ । मौवाटारमा बिओपी केन्द्र राख्न चाहिने तात्कालिक संरचनाका लागि त्यहाँको भौगोलिक बनावट सहितका बारेमा यसअघि सशस्त्र प्रहरी बल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका गुल्मपति रबिन्द्र श्रेष्ठसहित प्राविधिक टोलीले स्थलगत अवलोकन गरिसकेको छ । डिआईजी दाहालका अनुसार १ नं प्रदेशमा स्वीकृत २२ स्थानमध्ये अहिले सम्म ४ स्थानमा बिओपी स्थापना भईसकेको छ । पाँचथरको याङ्वरक गाउँपालिका स्थित चिवाभञ्ज्याङ र फालेलुङ गाउँपालिका स्थित भैंसे सुर्केथाम तथा इलामको सूर्योदय नगरपालिकास्थित समालबुङ र रोङ गाउँपालिका स्थित सलकपुरमा बिओपी स्थापना भईसकेको छ । चालू आव भित्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित मौवाटार,पाँचथरको फालेलुङ गाउँपालिकास्थित चारराते र गोरुवाले भञ्ज्याङ,इलामको सन्दकपुर गाउँपालिकास्थित कालपोखरी तथा जौवारी,सूर्योदय नगरपालिकाको छब्बिसे र माने भञ्ज्याङमा बिओपी स्थापना हुनेछन् । यस्तै झापाको कचनकवल गाउँपालिकाको पाठामारी,झापा गाउँपालिकाको पन्थपाडा,मेचीनगर नगरपालिकाको तिरीङ र नकलबन्दा र ज्यामिर गढी,गौरीगञ्ज गाउँपालिकाको आमगाछी,भद्रपुर नगरपालिकाको छोटी भन्सार कार्यालय र महेशपुर किच्चकवधमा बिओपी स्थापना हुने छ । यस्तै मोरङको सुनबर्षी नगरपालिकाको सिक्टी,जहदा गाउँपालिकाको मधुमल्ला र सुनसरीको भोक्राहा गाउँपालिकाको बिओपिउल्टीमा समेत चालू बर्ष भित्रै बिओपी स्थापना भई सक्ने छ । ताप्लेजुङ आउँदाका बखत डिआईजी दाहालले बारबार आगलागिका समस्याले ग्रसित फुङ्लिङ बजारमा थप आगलागिको जोखिम हुन नदिन के उपाय हुन सक्छन् भनेर सरोकारवालासंग सुझाव समेत माग्नु भएको छ । जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन,बिपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँई,ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरे र उज्यालो पोष्टका प्रधान सम्पादक समेत रहनु भएका पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले यहाँको बिपद्का प्रकृति र न्यूनीकरणका उपाय बारे आ–आफ्नो धारणा समेत राख्नु भएको थियो ।