मंसिरमा ताप्लेजुङबाट २ जनाले लिए बैबाहिक अंगीकृत नागरिकता
खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट मंसिर महिनामा २ जनाले बैबाहिक अंगीकृत नागरिकता लिएका छन् । यो सहित चालु आर्थिक बर्ष २०८२।८३ को मंसिर महिनासम्ममा ३ वटा बैबाहिक अंगीकृत नागरिकता जारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहनु भएका सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार चालु आर्थिक बर्षमा गैर आवासीय नेपाली नागरिकता भने जारी भएको छैन । मंसिर महिनामा १२ सहित प्रशासन कार्यालयले चालु आवमा ४५ वटा नावालक परिचयपत्र बितरण गरेको सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो । साउन,भदौ र असोज महिनामा नयाँ नागरिकता लिने भन्दा नागरिकताको प्रतिलिपि लिनेको संख्या बढी देखिएको कात्तिक र मंसिर महिनामा वंशजका आधारमा नागरिकता लिने धेरै देखिएका छन् । प्रशासन कार्यालयका अनुसार चालु आवको मंसिर महिनासम्ममा १ हजार ४ सय ८८ जनाले वंशजको नागरिकता लिएका छन् । मंसिर महिनामा मात्र वंशजका आधारमा ३ सय ८१ जनाले नयाँ नागरिकता लिएको प्रशासन कार्यालयले जनाएको छ ।
नागरिकताको प्रतिलिपि लिनेको संख्या भने चालु आवमा १ हजार १ सय ६५ रहेको छ । मंसिर महिनामा २ सय २८ वटा नागरिकता प्रतिलिपि जारी भएका छन् । चालु आवको अहिलेसम्म जन्मको सन्तानलाई वंशजका आधारमा दिइने नागरिकता भने प्रदान नभएको प्रशासन कार्यालयले जानकारी दिएको छ । मंसिर महिनामा १ सहित चालु आवमा प्रशासन कार्यालयमा ११ वटा अभद्र व्यवहारसंग सम्वन्धित मुद्दा दर्ता भएकोमा ८ वटा मुद्दाको किनारा लगाईएको प्रशासन कार्यालयले जनाएको छ । मंसिर महिनामा प्रशासन कार्यालयले राहदानीका २ सय ५ वटा अनलाइन फारम निःशुल्क भरिदिएको छ भने ३ सय २२ जना सेवाग्राहीलाई कार्यालय प्रयोजनमा आवश्यकपर्ने विभिन्न प्रकृतिका कागजातको प्रतिलिपि निःशुल्क रुपमा उपलब्ध गराएको छ ।