ताप्लेजुङमा ९१ हजार ८३८ मतदाताको प्रारम्भिक सूची सार्वजनिक,सबैभन्दा कम मतदाता याङ्मामा ६२ जना
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २३ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा ताप्लेजुङमा ९१ हजार ८ सय ३८ जना मतदाता हुने प्रारम्भिक विवरण निर्वाचन कार्यालयले प्रकाशित गरेको छ ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी वान्दवराज(विपिन)दुलालका अनुसार थपिएका ५ सहित ८० मतदानस्थल र १ सय २८ मतदान केन्द्र कायम भएका छन् । दुलालले आयोगबाट २०८२ साल फागुन २० गते १८ बर्ष पूरा भई मतदानका लागि योग्य भएकाहरुको प्रारम्भिक सूची तयार भएको र त्रुटी सच्याउने सहितका कार्य जारी रहेकोले अन्तिम नामावली प्रकाशित हुँदा अहिलेको संख्या केहि थपघट हुने सम्भावना औंल्याउनुभयो । जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल मतदातामध्ये प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा ५१ हजार ५० र निर्वाचन क्षेत्र नं २ मा ४० हजार ७ सय ८८ मतदाता देखिएका छन् । यसअघि निर्वाचन आयोगले २०८२ साल कात्तिक १६ गते १८ बर्ष पूरा हुने मतदाताको संख्यामध्ये प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा ४९ हजार ४ सय ९७ र निर्वाचन क्षेत्र नं २ मा ३९ हजार ९ सय ९३ रहने बताएको थियो ।
निर्वाचन आयोगले असोज १० गते देखि मंसिर ५ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने गरी गरेको व्यवस्था अनुरुप ताप्लेजुङमा २ हजार ३ सय ४८ मतदाता थपिएको प्रारम्भिक विवरण जिल्ला निर्वाचन कार्यालयले दिएको छ । सो क्रममा १ हजार ८ सय ५६ जनाले फोटो सहितको मतदाता नामावलीमा सोझै नाम दर्ता गराएका थिए भने १ हजार १ सय ४९ जनाले राष्ट्रिय परिचयपत्रको विवरणबाट नाम दर्ताको निबेदन दिएका थिए । राष्ट्रिय परिचयपत्रको विवरणबाट नाम दर्ताका लागि आबेदन दिनेमध्ये दोहोरो र तेहेरोसम्मको निबेदन दर्ता भएकोमा आयोगले उक्त विवरण अद्यावधिक गरेको थियो । मतदाता नामावली सार्ने प्रयोजनका लागि आबेदन दिनेको संख्या समेत अद्यावधिक गरेर निर्वाचन आयोगले मतदाताहरुको प्रारम्भिक नामावली प्रकाशित गरेको हो ।
आयोगले मतदाता नामावलीमा रहेको नामको त्रुटी सच्याउने देखि मृत्यु भएकाको नाम हटाउनेसम्मको अद्यावधिक कार्य सुरु गरेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार फुङलिङ नगरपालिकाको प्रारम्भिक मतदाता संख्या २० हजार ८९ देखिएको छ । पाथीभरा याङवरक गाउँपालिकाको प्रारम्भिक मतदाता संख्या ९ हजार ९ सय ५५,सिदिङ्वाको ९ हजार ९ सय ३१,सिरिजङ्गाको ११ हजार ८ सय ७५,आठराई त्रिबेणीको ९ हजार ६ सय ७४,फक्ताङलुङको ७ हजार ७ सय १८,मिक्वाखोलाको ७ हजार ९१,मेरिङदेनको ८ हजार ७ सय २५ र मैवाखोलाको ७ हजार ५ सय ८० प्रारम्भिक मतदाता संख्या रहेको छ ।
प्रारम्भिक सूचीमा सबैभन्दा बढी नाङखोल्याङ र सबैभन्दा कम याङ्मामा
मतदाताको प्रारम्भिक सूची सार्वजनिक हुँदा ताप्लेजुङमा पाथीभरा याङवरक गाउँपालिकाको वडा नं १ स्थित कालिका मावि नाङखोल्याङमा सबैभन्दा बढी मतदाता देखिएका छन् । त्यहाँ २ हजार ६ सय ६४ मतदाता देखिएका छन् । सरस्वती मावि हाङपाङ मतदान स्थलमा २ हजार ६ सय ४५ मतदाता रहेका छन् । सबैभन्दा कम फक्ताङलुङ गाउँपालिकाको याङ्मा आधारभूत बिद्यालयमा ६२ जना र ग्याब्ला आधारभूत बिद्यालयमा ६९ जना मतदाता देखिएका छन् ।