|

सदरमुकाम फुङ्लिङभित्र दिउँसै चोरी

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज ७ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङभित्र दिउँदै चोरी भएको छ । सदरमुकाम फुङ्लिङ बजारको बिहीबारे टोलमा एक घरमा बुधबार दिउँसो चोरी भएको हो ।
प्रहरीका अनुसार जिल्ला अस्पताल नजिक बिहीबारे टोलका जीवन पोख्रेलको घरमा चोरी भएको हो । दिउँसो घरमा कोही नभएको मौका छापी घरको प्यासेजको ढोकाको ताल्चा फोरेर पोख्रेलको घरमा चोरी भएको छ ।
पोख्रेलका घरमा कोठा भाडामा बस्ने तीन परिवारको चोरी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । चोरी घटनामा संलग्नले सुन चाँदीको गरगहाना, नगद र अन्य सामान चोरेर लगेका छन् । चोरी धटनामा संलग्नको सङ्ख्या के कति जना थिए भन्नेबारे खुलिनसकेको पनि प्रहरीले जानकारी दिएको छ ।
यता चोरी भएको विस्तृत विवरण आइनसकेको पनि जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिनुभयो । पोख्रेलको घरमा भाडामा बस्ने परिवार सबैसँग सम्पर्क भई नसकेकाले पनि चोरी भएको पूर्ण विवरण आउनलाई समय लागेको प्रहरी निरीक्षक यादवको भनाइ छ ।
उहाँका अनुसार चोरी भएको विवरण सङ्कलन भइरहेको छ । त्यस्तै चोरी घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ भने चोरीमा संलग्नको खोजी कार्य पनि भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Similar Posts