साँवाको थलङमा मंसिर १८ बाट आमन्त्रित खुल्ला क्लव स्तरीय पुरुष फुटबल प्रतियोगिता हुँदै

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ६ । चासोक तङ्नाम(न्वागी खाने पर्व)को अवसर पारेर मंसिर १८ गते देखि ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवा थलङमा तेस्रो आमन्त्रित खुल्ला क्लव स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।

गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीको उपस्थितिमा शनिवार आयोजक थलङ स्पोर्टिङ क्लवले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका बारेमा जानकारी दिएको हो । क्लवका अध्यक्ष मणिकुमार थलङका अनुसार प्रतियोगिताका बिजेताले १ लाख ५२ हजार रुपैयाँ र उपबिजेताले १ लाख रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् । आयोजक क्लवका सचिव पूर्ण थलङका अनुसार बेष्ट किपर,बेष्ट डिफेण्डर,बेष्ट प्लेयर र हाइस्कोरर प्रत्येकलाई जनही ५ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र बितरण गरिने छ । प्रत्येक खेलका म्यान अफ द म्याच हुनेलाई नगद २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने क्लवले जनाएको छ । फुटबलका राष्ट्रिय रेफ्री तथा खेल संयोजक बिके थलङका अनुसार खेल नकाउटका आधारमा खेलाइने छ । अतिरिक्त ३ सहित ७ जना खेलाडी,टिम कोच र टिम म्यानेजर सहित टिममा १२ जना हुनुपर्ने नियम रहेको समेत खेल संयोजक थलङले बताउनुभयो ।

उद्घाटनको दिन मौलिक साँस्कृतिक परम्परामा आधारित च्याब्रुङ,नाच,धान नाच,पालम,येवा(बिजुवा)नाच,झाँक्री नाच र स्याब्रु नाच समेत प्रस्तुत गरिने योजना रहेको क्लवका उपाध्यक्ष अमर थलङले बताउनुभयो । २०८० सालमा स्थापना भएको क्लवले खेलकुदका माध्यमबाट मिक्वाखोला क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा योगदान पु¥याउने उद्देश्य लिएको छ । मिक्वाखोलामा फुङफुङ्गे झरना,बाग्बा पाखरी,ओत्रक्मा पोखरी,चुचे ढुङ्गा,मानाभरा डाँडा,सेमसेमलुङ डाँडा,सिमिक्लुङ किराँत मन्दिर,टाँसीछ्योलिङ गुम्बा,टाँसी छ्योकर गुम्बा,साँवा इङफोनदेन् सहितका दर्जनौं धार्मिक तथा पर्यटकीय स्थलहरु रहेका छन् ।

तिब्बतबाट आएकी एक युवतीको आँसुबाट खोला बनेको र स्थानीय लिम्बू भाषामा मिक्वाको अर्थ आँसु भएकोले मिक्वाखोला नाम रहन गएको जनश्रुति पाइन्छ । मिक्वाखोला अलैंची खेति,पर्वतारोहण,साना तथा ठूला पोखरीहरुको अवलोकन भ्रमण,मौलिक साँस्कृतिक परम्परा र जडिबुटी सहितका दर्जनौं बिशेषताका कारण प्रसिद्ध रहेको छ । मुख्य रुपमा किराँत,हिन्दु,बौद्ध र इसाई धर्मावलम्बीहरुको बसोबास रहेको मिक्वाखोला क्षेत्र जातिय हिसावले मिश्रित समुदायको बसोबास रहेको क्षेत्र भएकोले यहाँको धर्म,संस्कार र संस्कृति विविधतायुक्त रहेको पाइन्छ ।

Similar Posts