आगलागी पीडितलाई नेपाली कम्युनिष्ट पार्टी र वाइसिएलद्धारा २ लाख १९ हजार प्रदान,रेडक्रसले पनि दियो राहत

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ५ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवास्थित तेम्बाका आगलागी पीडितहरुलाई राहत जुट्न थालेको छ ।

नेपाली कम्युनिष्ट पार्टी पार्टी ताप्लेजुङ जिल्ला कमिटी र मिक्वाखोला गाउँपालिका कमिटी तथा र वाईसिएल नेपाल ताप्लेजुङ र वाईसिएल मिक्वाखोला गाउँपालिका कमिटीको संयोजनमा आफ्ना सदस्यहरुबाट संकलित २ लाख १९ हजार ४ सय २४ रुपैयाँ शुक्रवार आगलागी पीडितलाई हस्तान्तरण गरिएको छ । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा साविक नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री ‘पराग’का अनुसार उक्त रकम तेम्बाका ६ घर आगलाी पीडित परिवारलाई प्रदान गरिएको छ । वाईसिएल नेपालका नेता कैलाश मावोका अनुसार उक्त राहत मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाको रोहवरमा पीडितहरुलाई हस्तान्तरण गरिएको छ । शेर्पा साविक नेकपा (माओवादी केन्द्र) मिक्वाखोला गाउँपालिका कमिटीका अध्यक्ष समेत हुनुहुन्छ । राहत बितरण कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता तथा साविक नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य नेत्र नेपाली सहितको उपस्थिति रहेको थियो ।

यस्तै नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङले तेम्बाका आगलागी पीडित परिवारका लागि आपतकालिन सामग्री अन्तरगत खाद्यान्न भाडा वर्तन सहितका सामाग्री हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङका मन्त्री विकास गौतमका अनुसार आगलागी प्रत्येक परिवारलाई चामल,दाल,तेल,नुन,मसला,चियारंग कम्बल,त्रिपाल,भाँडासेट सहित हाईजेनिक किट प्रदान गरिएको छ । मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की र प्रमुख प्रशासकीय अधिकृत बिमल गौतमको उपस्थिति तथा नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति इन्द्रबहादुर गुरुङ,मन्त्री गौतम,कोषाध्यक्ष दिनेश अधिकारी सहित जिल्ला रेडक्रसका सदस्य तथा रेडक्रसकर्मीको सहभागितामा राहत सामग्री बितरण गरिएको हो । गत मंगलवार राति तेम्बा बजारमा भएको आगलागीबाट झण्डै सवा करोड मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

 

Similar Posts