दोस्रो बार्षिक उत्सव मनाएको आईटी एकेडेमी,१८१ जना दिक्षित हुँदा ५९ जना रोजगारीमा,७३ लाख कमाई

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ६ । आईटी सीपलाई विश्व बजारमा बिक्री गरेर व्यवसायिक र रोजगार बन्न सकिने सकारात्मक सन्देश प्रवाह गर्दै ताप्लेजुङको फुङलिङमा सञ्चालित आईटी एकेडेमीले शनिवार आफ्नो दोस्रो बार्षिक उत्सव मनाएको छ ।

बार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश सरकारका उद्योग,कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले ताप्लेजुङमा स्थापना भएको आईटी एकेडेमी पूर्वी नेपालमै नमूनाको रुपमा रहेको भन्दै प्रशंसा गर्नुभयो । एकेडेमीबाट दिक्षितहरुले प्राप्त गरेको सीपलाई विश्व बजारमा बिक्री गरेर आफुलाई आर्थिक र सामाजिक हिसावले मजवुत बनाएको सुन्दा गौरव लाग्ने हाङगामको भनाई थियो । सूचना र प्रविधिसंग झुमिएको अहिलेको पुस्ताले प्राप्त गरेको सीपलाई व्यवसायिक बनाउन साह्रै दुःख गर्नु नपर्ने अवस्था सुन्दा कोशी प्रदेश सरकारले आईटी एकेडेमीका लागि गरेको लगानी उचित ठाउँमा भएको महशुष आफुले गरेको मन्त्री हाङगामले बताउनुभयो । यही सकारात्मक अवस्थाका कारण आफुले गरेको मन्त्रालयले एकेडेमीका लागि चालु आर्थिक बर्षमा करिव ४० लाख रुपैयाँ बजेट बिनियोजन गरेको हाङगामले बताउनुभयो । आईटी एकेडेमी ताप्लेजुङको मात्र नभएर छिमेकी जिल्लाहरुको समेत आईटी सीप हाँसिल गर्ने केन्द्रको रुपमा रहेकोले यसलाई संरक्षण र व्यवस्थित गर्न सबै स्थानीय तहले सहयोग गर्नुपर्ने हाङगामले बताउनुभयो ।

उमेरले ८५ बर्ष पुग्नु भएका आईटी एकेडेमीका संस्थापक डेनमार्कका नागरिक वाल्डेम्बर स्मिथले आफुले सोचेको उद्देश्य अनुरुपकै बाटोमा आईटी एकेडेमीले प्रगति गरिरहेको देख्दा मनमा आनन्द आउने बताउनुभयो । उहाँको सोच र परिकल्पना अनुरुप भानुजन माविको हाताभित्र निर्मित आईटी एकेडेमी २०२३ को नोभेम्बर २२ तारेखका दिनबाट सञ्चालनमा आएको हो । उहाँलाई एकेडेमीले ‘लगानीका पिता’भनेर सम्बोधन गर्ने गरेको छ । उहाँले आईटी एकेडेमीको उज्वल भबिष्य सुनिश्चित गर्न सबैको साथ,सहयोग र सहकार्यको अपेक्षा समेत गर्नुभयो । आईटी एकेडेमीबाट दक्षित भई फ्रिलाईन्सरबाट रोजगारी सृजना र व्यवसायिक मार्ग प्रसस्त गरेका सानु ईङ्वासङ र असिम तोलाङले गरेको आर्थिक प्रगतिको सम्मान गर्दै उनीहरुको व्यवसायिकतालाई टेवा दिन वाल्डेम्बरले जनही करिव ७ हजार ५० रुपैयाँ प्रोत्साहन रकम समेत प्रदान गर्नु भएको छ ।

आईटी एकेडेमीलाई ह्युमन प्राक्टिस फाउण्डेसन(एचपिएफ)संगको सहकार्यमा लर्नियो एकेडेमीमार्फत सीप प्रदान गर्दै आउनु भएका आईटी विज्ञ बंगालादेशी नागरिक अनिक हुसेनले आईटी विज्ञता र सीप हाँसिलका लागि ताप्लेजुङमा स्थापित आईटी एकेडेमी स्र्फुत,व्यवस्थित र निरन्तर सञ्चालन हुने विश्वास लिनुभयो । आफु र आफुजस्तै शिक्षण सहजकर्तामार्फत दिक्षित भएकाहरुले व्यवसायिक रुपमा गरेको प्रगति लोभलाग्दो रहेको उहाँको भनाई थियो । जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले आईटी एकेडेमी अब युवा पुस्ताको आसा र भरोसाको केन्द्र बन्नेमा विश्वास लिदैं यसको दीर्घपनका लागि आफुले सरोकारवाला पक्षसंग निरन्तर समन्वय गर्ने बताउनुभयो ।

कार्यक्रममा आफ्नो धारणा राखेका पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा,मेरिङदेन गाउँपालिका अध्यक्ष युकहांवीर हाङगाम(डम्बर),मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले आफ्ना पालिका क्षेत्रका नागरिकलाई समेत आईटी एकेडेमीमार्फत सूचना र प्रविधिसंग जोड्ने अभिलाषा प्रकट गर्दै त्यसका लागि आफुहरुले एकेडेमीसंग सकारात्मक सहकार्य गर्ने बचन दिनुभयो । हेडअफ एकेडेमी बसन्त पालुङ्वाका अनुसार आईटी एकेडेमी स्थापना भएपछि अहिलेसम्म १ सय ८१ जना दिक्षित भएका छन् । तिमध्ये ५९ जना रोजगारीमा रहेको र उनीहरुको औसत आम्दानी करिव ७३ लाख रुपैयाँ रहेको पालुङ्वाले जानकारी दिनुभयो ।

पालुङ्वाका अनुसार एकेडेमीबाट दिक्षित भएका कतिपयले विश्व बजारमा स्थापित बहुराष्ट्रिय कम्पनीका विज्ञापन तथा प्रचार सामग्रीको डिजाइन गरेका छन् । रमपम र सिटीजन लाइफ इन्स्योरेन्ससम्मका प्रचार सामग्री ताप्लेजुङको आईटी एकेडेमीबाट दिक्षित बिद्यार्थीले गर्न सकेको उहाँले बताउनुभयो । भानुजन माविका प्रधानाध्यापक किशोरकुमार राईले सूचनाको सीमा नहुने भएकोले विश्व बजारमा सूचना र प्रविधिसंग प्रतिश्पर्धा गर्न सक्ने जनशक्ति स्थापनामा एकेडेमी एक माध्यम बनेको बताउनुभयो । कार्यक्रम भानुजन मावि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष युगराज गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

Similar Posts