रसुवा बाढीमा वेपत्ता ताप्लेजुङका दुई पुरुषको कुशको शव बनाएर गरियो अन्त्येष्टी

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ६ । रसुवा बाढीमा वेपत्ता ताप्लेजुङका दुई पुरुष लामो समयसम्म फेला नपरेपछि उनीहरुका आफन्तले मृत्युभए सरह मान्दै कुशको शव बनाएर अन्त्येष्टी गरेका छन् ।

फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा घर भई हाल तार्केश्वर नगरपालिका बसोबास गर्दै आउनु भएका दुर्गा भट्टराई र पाथीभरा याङवरक गाउँपालिका वडा नं २ थेचम्बु घर भई त्रिशूली–३ ‘बी’जलविद्युत परियोजनामा कार्यरत भीष्म चापागाँइका आफन्तले कुशको शव बनाई अन्त्येष्टी गर्नु भएको छ । भट्टराईको असोज ४ र चापागाँइको असोज ६ गते अन्त्येष्टी गरिएको हो । भट्टराईको शवको प्रतिक पशुपति आर्यघाटमा र चापागाँईको शवको प्रतिक उनको गृहगाउँमा रहेको खिबुना आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।

पर्यटन व्यवसायी भट्टराईलाई कैलास मान सरोवारको यात्रामा पर्यटक लिएर चीनको सीमा क्षेत्रसम्म पुगेको बेला अचानक आएको बाढीले बगाएको अनुमान गरिएको छ । कार्यरत रहेको जलविद्युत परियोजना नामोनिसान हुनेगरी बाढीले बगाएकोले चापागाँइलाई समेत बाढीले बगाएर वेपत्ता बनाएको परिवारले अनुमान लगाएका छन् । बाढीले वेपत्ता बनाएको लामो समयसम्म वेपत्ता व्यक्ति कुनै सम्पर्कमा नआएकोले परिवारले कुसको शव बनाएर वेपत्ता सदस्यको अन्त्येष्टी गर्नु भएको हो । रसुवा बाढीमा वेपत्ता आठराई त्रिवेणी गाउँपालिका वडा नं १ निघुरादिनका पासाङतेञ्जी शेर्पा,ङिमासाङ्गे शेर्पा र पासाङ शेर्पाभने वेपत्ता भएको दुईदिन पछि परिवारको सम्पर्कमा आउनु भएको थियो ।

 

Similar Posts