ड्रोन अनिवार्य दर्ता गर्न र अनुमति लिएर मात्र उडाउन ताप्लेजुङ प्रशासनको अपिल,कानुन विपरित भए जफत गरिने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी प्रावधान पालना गरेर मात्र मानव रहित हवाई उपकरण(ड्रोन)को उडान गर्न गराउन अपिल गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले मंगलवार एक सार्वजनिक सूचनामार्फत नागरिकको गोपनियता,व्यक्तिगत सुरक्षा र सामरिक प्रभाव समेतलाई ध्यान दिई सुरक्षा सम्बेदनशिलताका आधारमा ड्रोन उडान गर्नुपूर्व कानुनी प्रावधान पूरा गर्नुपर्ने बताउनु भएको छ । जिल्ला प्रशासन कार्यालयले कानुनी प्रावधान पालना नगरी जबरजस्त ड्रोन उडान गर्दा हुने कानुनी कारवाहीका बारेमा समेत सचेत गराएको छ ।
प्रमुख जिल्ला अधिकारी सेढाईँले ड्रोन उडान सम्वन्धी कार्यविधि २०७५ बारे स्मरण गराउँदै ड्रोन अनिवार्य रुपमा दर्ता गरी उडान अनुमति लिनुपर्ने,बनोट तथा उडान तौल क्षमता अनुसार ड्रोन एवम् सोको उडान वर्गिकरण,उचाई,उडान गर्ने समय,उडानमा संलग्न व्यक्तिको योग्यता,उडान गर्न पाइने कार्यक्षेत्र,उडान अनुमति,म्याद थप तथा नविकरण र उडान गर्दा पालना गर्नुपर्ने सर्त तथा सर्त पालना नगरेमा हुने कारवाही समेतको सबै प्रकृया पूरा भएपछि मात्र ड्रोन उडान गर्न पाइने बताउनु भएको छ । ड्रोन दर्ता तथा उडान सम्वन्धी अनुमति नलिएको अवस्थामा इजाजत खारेजी तथा ड्रोन जफत सहित अन्य कानुनी कारवाही हुनेतर्फ प्रशासनले ध्यानाकर्षण गराएको छ ।
ताप्लेजुङ जिल्लाका बिभिन्न स्थानहरुमा प्रचलित कानुनको प्रतिकुल हुनेगरी ड्रोन उडान भइरहेको गुनासो आएको भन्दै प्रशासन कार्यालयले कानुन सम्वत रुपले ड्रोन उडान गर्न गराउन अपिल गरेको हो । प्रशासन कार्यालयले अनुमति नलिई जथाभावी हिसावले ड्रोन उडान भइरहेको पाईए तत्कालै जिल्ला प्रशासन कार्यालय र नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन आग्रह समेत गरेको छ । प्रशासन कार्यालयले कानुन कार्यान्वयनमार्फत सार्वजनिक हितको रक्षा गर्ने कार्यमा सहयोग गर्न समेत सम्वधित सबैलाई आग्रह गरेको छ ।